जेठ २२, विराटनगर –
विराटनगरमा विगत ६८ दिनदेखि निरन्तर रुपमा बिहान बेलुकै निशुल्क खाना खुवाउने अभियान चलिरहेको छ। युवा नेता ओसिम आलमले नेतृत्व गरिरहेको अभियानमा धेरैजना युवाहरु सक्रिय रुपमा लागिरहेका छन् । त्यही अभियानमा सक्रिय रुपमा लाग्ने चार जना महिलाहरु पनि छन् जो दिनरात खटिरहन्छन् ।
सडक पेटिमा बस्ने गरिब, असहाय , घरबारविहीन तथा मजदुरवर्गलाई बिहान बेलुकै खाना खुवाईरहेको युवाहरुको समुहमा सन्जु सापकोटा , दिपा दर्नाल, कन्चन शाह र मन्जु मन्डल दिनरात लागिरहेका हुन्छन् । अभियानमा अरु सबै पुरुषहरु छन् । यी चार जना महिलाहरु तरकारीको जोहो गर्नेदेखि लिएर खाना बनाउने र बाँड्ने सबै काम गर्छन् । लकडाउनको बेला धेरैजसो महिलाहरु घरपरिवारसँग विभिन्न परिकार बनाउने, रमाइलो गरेर बस्ने गरेपनी यी चार जना महिलाहरु दिनरात बेसहाराहरुलाई खाना बाँड्न खटिरहेका छन् । विगत ६८ दिनदेखि निरन्तर लागिरहेको उनिहरुलाई पछिल्लो समय यसैमा रमाउन थालिसकेको अनुभव सुनाउँछन् ।
अगाडि पनि सामाजिक कार्यहरुमा सहभागी हुँदै आएपनी यो अभियानले आफुलाई निकै खुशी मिलेको अभियन्ता सन्जु सापकोटाले बताईन। उनले भनिन्, ” लकडाउनका कारण सामान्य रोजगारी गरेर छाक टार्ने उहाँहरुलाई समस्या परेको थियो। उहाँहरुको समस्यामा केही सहयोग गर्न पाउँदा एकदमै खुशी लागेको छ । यती धेरै दिन भैसक्यो अभियानमा लागेको अब त बानी परिसकेको छ। हामी सबै अभियन्ताहरु एउटै परिवार जस्तै भैसकेका छौँ। यसैमा रमाईलो लाग्छ ।”
त्यस्तै अर्कि अभियन्ता दिपा दर्नालले पनि अभियानमा जोडिन पाउँदा खुशी लागेको बताईन्। उनले भनिन्, ” दैनिक ४ सय भन्दा बढिको भोको पेटलाई खाना खुवाउन पाउँदा खुशी लाग्छ। यसमा कुनै स्वार्थ छैन, खाली राम्रो काममा लाग्नुपर्छ भनेर मात्र हो।” अर्कि अभियन्ता कन्चन शाहले पनि अभियानमा जोडिएकोमा खुशी लागेको बताउँदै निरन्तर लागिरहने बताईन्। “दिनको ४ सय भन्दा बढिलाई खाना खुवाईरहेका छौँ। त्यसका लागि तरकारी लिन खेतसम्मै पुगेर ल्याउनेदेखी पकाउने र बाँड्ने सबै गर्छौँ। एकदमै खानै समस्या भएकाहरुलाई खाना खुवाउन पाउँदा खुशी लाग्छ।” शाहले भनिन। त्यस्तै अभियन्ता मन्जु मण्डलले भनिन्, “अभियानमा धेरैजना छौँ। पछिल्लो केही समयदेखि यहि अभियानमा निरन्तर लागिरहेकोले यसैमा रमाईलो लाग्छ।”
उनिहरु सबै बिहानै उठेर खाना बनाउने ठाउँ रोयल बिर्यानी हाउसमा पुग्छन र खाना बनाउन, तरकारी काट्न ब्यस्त हुन्छन्। त्यसलगत्तै खाना प्याकिङ गरेर सडकका गल्लिगल्लीमा बसेकाहरुलाई खाना वितरण गर्दै हिँड्छन्। त्यसपछि घर आएर खाना खाईसक्ने बित्तिकै अभियानका लागि तरकारी लिन खेतसम्म जाने देखि खाद्यान्न जुटाउने काममा खटिन्छन्। विगत केही समययता उनिहरुको दैनिकी यसरी बितिरहेको छ ।
अभियानको नेतृत्व गरिरहेका युवा नेता ओसिम आलमले पनि उनिहरुको प्रशंसा गर्दै भने,” आफ्नो घरको काम छाडेर गरिबदुखीहरुको लागि दिनरात लागिरहनुभएको छ, यो एकदमै प्रशंसनीय छ। उहाँहरु हाम्रो अभियानमा आफ्नै खुशीले जोडिन आउनु भएको हो । हामी एउटै परिवार जस्तो भएर अभियान चलाईरहेका छौँ। सामान्यतया महिलाहरु घरायसी काममा ब्यस्त हुने गरेको र सामाजिक कार्यमा खासै नदेखिने गरेकोमा उहाँहरु उदाहरणीय हुनुहुन्छ। अझ उहाँहरु त युवा चेलिहरु हुनुहुन्छ, यो सबैको लागि , नयाँ पुस्ताका लागि उदाहरणीय हुनुहुन्छ ।”
यी चार चेलिहरु नयाँ पुस्ताका लागि साच्चिकै उदाहरणीय बनेका छन् । महिलाहरु पनि पुरुष सरह सामाजिक क्षेत्रमा अगाडि छन् भन्ने गतिलो उदाहरण उनिहरुले पस्किएका छन्। दैनिक ४ सय भन्दा बढि गरिब, असहाय , घरबारविहीन र मजदुरहरुलाई निशुल्क खाना खुवाउने अभियान चलाउनु आफैमा उदाहरणीय छ। त्यसैमा यी चेलिहरुले अझ समाजका लागि एउटा सकारात्मक उर्जा थपेका छन् ।