📝 सुजाता लिम्बू
‘यो मन भन्छ कहाँ जाउँ……’
शम्भु राईको स्वरमा रहेको गीत यो समय मेरो जीवनमा मात्रै होइन सबैको जीवनमा मेल खान जान्छ । नजिक घर भएकाहरु लकडाउनको खबर अघि नै हिँडे । भौगोलिक दुरीले टाढा पेसाप्रतिको जिम्मेवारीले घर तर्फका मेरा पाईला रोकिए । म आफ्नै कर्मक्षेत्रमा लकडाउनको पूर्ण पालनासहित रिपोर्टिङ गर्दै दैनिकी चलाइरहेकी छु । अहिले विश्व कोरोना भाइरसबाट आतकिंत भइरहेको अवस्था छ । आर्थिक, सामाजिक, राजनितिक सम्पूर्ण क्षेत्रमा पनि प्रत्यक्ष असर पर्न गएको छ ।
यो समय विश्व कोरोना भाइरस संक्रमणसँग जुधिरहेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन । नेपालमा संक्रमित संख्या दिन प्रति दिन वृद्धि भइरहेको अवस्था छ । हालसम्ममा नेपालमा संक्रमित संख्या ४ हजार नाघिसकेको छ भने १५ जनाको ज्यान पनि गहिसकेको अवस्था छ। कोरोना भाइरस संक्रमण फैलिन थालेसँगै नेपाललाई नियन्त्रणका लागि क्षमता भन्दा बहिरको विषय नै रहन्छ । त्यसैले कोरोना भाइरस संक्रमण हुन नदिन र नियन्त्रणका लागि नेपाल सरकारको तर्फबाट जति भूमिका निर्वाह भएको छ त्यति नै हामी आमनागरिक जिम्मेवार हुनु पर्ने भए पनि विराटनगरलाई हेर्ने हो भने लकडाउनको पालना गरे जस्तो खासै देखिदैन ।
म कोरोना भाइरस संक्रमणको त्राससँगै ताजा कथाको पात्र खोज्न दिनमा एक पटक बाहिर निस्कने गर्दछु । त्यसैक्रममा गत सोमबार मध्य दिनमा रिपोर्टिङमा निस्किए । धेरै जस्तो बजार क्षेत्र भन्दा पनि तराईको ग्रामिण क्षेत्र निस्कन्छु । अधिकांश म कटहरीको गाँउ, वस्ती चाहार्ने गर्दछु । मेरो यात्रा विराटनगर बजार देखि सुरु हुन्छ । पात्र अनेक किसिमका भेटिन्छन् । कतिले मास्कको प्रयोग गरेका हुँदैनन्, अधिकांश महिलाले साडिको फेराले नाक मुख हतार, हतार छोप्छन् त्यो पनि मेरो क्यामेरा हेर्दै । लाग्छ कि मैले कुनै सिरियलको सुटिङ गर्न हिडे जस्तो । गाँउवस्तीमा कोरोना संक्रमणको सूचना राम्रोसँगै नै सम्पे्रषण भएको छ । तर किन बुझदैनन् सर्वसाधरण भोलि हामी रोगको दलदलमा फस्दै छौं भनेर रु
०००००
बजारको कुरा गरौं, यो क्षेत्रमा पढेलेखेका बुद्धिमानी भनौदाहरु बिहान र बेलुका जसोतसो सुरक्षाकर्मीको बलले घर भित्र अडिएका हुन्छन् । दिनको १२ बजे देखि यत्रतत्र छरपस्ट हुन्छन् । न उनीहरु सामाजिक दुरी राखेर नै बसेका हुन्छन्, न लकडाउनको पालना । बिच सडकमा क्रिकेट खेल्ने, फुटबल खेल्ने जस्ता कार्य हुन्छ । जसमा कलेज स्कुलमा अध्यनरत विद्यार्थीहरु नै हुन्छन् । उनीहरुलाई कोरोना भाइरस के हो र कसरी जोगिने र हाल कोरोना भाइरस संक्रमणले विश्वमा कस्तो असर पारेको छ भन्ने प्रश्न गरिरहँदा एक घण्टासम्मको मन्तव्य तयार दिन सक्छन् अर्थात ज्ञान प्राप्त छ ।
अन्त नजाउन मेरो डेरा वरपर सबै पढेलेखेका छन् । सबैलाई थाहा छ मुलुकले महासंकट वेहोरिरहेको छ । तर उनीहरु क्रिकेट खेल्न सडकमा उत्रिन्छन् । जब सुरक्षाकार्मीको गाडिको साइरन बज्छ दौडिदै घर भित्र भाग्छन् । उनीहरुको अभिभावक रेलिङमा बसेर हाँसोले उडाउछन् । त्यहाँ प्रहरी र उनीहरुको सन्तान विच लुकामारी खेल सुरु भए झैँ । हुन त भनिन्छ गहिरो निन्द्रामा परेका लाई विउझाउन सहज हुन्छ, जो निदाएको नाटक गर्दछन् उनीहरुलाई विउझाउन गाह्रो हुन्छ ।
मुलुक महासंकट वेहोरिरहेको छ तर, केही मानिसहरु सडकमा निर्धक्क हिड्डुल गर्छन । जब सुरक्षाकार्मीको गाडीको साइरन बज्छ अनि दौडिन्छन् र भित्र छिर्छन् ।
केहि दिन अगाडि केशलीया रोडमा लकडाउन उलङघन गर्नेहरुलाई एक प्रहरी अधिकृतले उनीहरुबाट नै प्रशिक्षण दिन लगाइरहँदा विश्वविद्यालयका प्राध्यपक झैं कोरोना भाईरस सम्बन्धि जानकारीमूलक विषयमा बोलका थिए । सुरक्षाकर्मीहरुको भनाई अनुसार लकडाउन उलङघन गर्ने अधिकांश नबुझने भन्दा पनि अति बुझने पढेलेखेका नै हुने गरेको पाईएको छ । त्यसो त यहि नुसारको नेपालमा कोरोना भाईरस संक्रमण बढ्दै जानु र आम सर्वसाधरणले बुझेर पनि नबुझे झैं गरिरहँदा निकट दिनमा ठुलो संकट वेहोर्न तयारी अवस्थामा बस्दा हुन्छ ।
सुरक्षाकर्मी र जनताको लुकामारी:
मेरो साधन छैन । अधिकांश म पैदल नै हुन्छु । यो समय साधन भएका साथी भाई सेल्फ क्वारेन्टाइनमा आ–आफ्नो घरमा परिवारसँग समय विताइरहेका छन् । संचारकर्मी भएकाले मलाई रोकावट हुँदैन । तर कोरोनाले मेरो परिचयपत्रले मान्दैन भन्ने पनि ज्ञान छ । तर ताजा कथाको पात्र खोज्दा आफुलाई पनि आनन्द आउने पाठकले पनि कोरोना भन्दा बाहिरका नयाँ स्वाद पाउलान भन्ने सोंचले म हिँडिरहन्छु ।
म विराटनगर बसपार्क, ट्राफिक चौक हुँदै बजार वरपर घुमिरहन्छु । साँझको ४ः३० भएको थियो । मेरो पछिपछि दुई जना साईकल यात्रु थिए । साँझको समय ट्राफिक चौकमा सुरक्षाकर्मी खटिएका थिए । लकडाउन उलङघन गर्नेलाई उभ्याइएको थियो । त्यो दृष्य परबाट नै अवलोकन गर्न सकिन्थ्यो । मेरो पछाडीका दुई साइकल यात्रु मुखामुख गर्दै भने– ‘फ्रेस हुन निस्किएको होइन अब हु फ्रेस, फक्रिम यार घर ।’ उनीहरु संसारी माईस्थान मन्दिरबाट नै जहाँबाट आएको त्यहिँबाटो फर्कियो ।
मलाई समाचार बनाउन थियो म ट्राफिक चोकतर्फ लागे । मेरो छेवैमा आएर एक जना महिलाले तपाई त्यता नजानुस पुलिसले २ घण्टा उभ्याउछन्, उनले थपिन मत इभिनिङ वाकमा हिँडेको थाहा पाएर फर्किए । म मौन भएर उनको कुरालाई वेवास्ता गर्दै मेरो गन्तव्यतर्फ लागे । उनलाई रोगसँग लुक्न भन्दा पनि प्रहरीसँग लुक्न हतारो भए जस्तो आभास भयो मलाई । जनताको जिउ धनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई रहर होला र विना सुरक्षाका साथ सडकमा उत्रिनलाई उनीहरुको पनि घरमा परिवार छ । आफ्नो परिवारसँग रमाउन समय व्यतित गर्न के उनीहरुलाई रहर हुन्न होला र रु
ट्राफिक चोकमा खटिएका प्रहरी एक सुरक्षाकर्मीको अनुसार उनले ३ दिनदेखि परिवारसँग राम्रोसँग फोनवार्ता गर्न पाएका छैनन् । डिउटीमा निस्कने बेलामा छोराछोरीको ख्याल राख है पनि भन्न पाएको हुँदैनौं कहिलेकाँही । तर यो समस्या जनताले कहाँ बुझिदिन्छन् र रु उनले भने हाम्रो पनि परिवार छन्, हामी सडकमा उभिएर जनतालाई बाहिर ननिस्कनु भनिरहँदा मेरो परिवारलाई भन्न पाईरहेको छैन । उनले थपे जनताले हाम्रा लागि मास्क लगाउछन्, हाम्रा लागि घरभित्र पसिदिन्छन् लाग्छ प्रहरी र जनता लुकामारी खेलिरहेका छौं ।