असार ५, विराटनगर –
कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ८० दिन निःशुल्क खाना खुवाउँदै आएको विराटनगरका युवाहरुको अभियान बन्द भएको छ। ८० दिनसम्म निरन्तर निशुल्क खाना खुवाउँदै आएको अभियानको नेतृत्व गरेका थिए युवा नेता ओसिम आलमले। विराटनगरका १५ देखि १७ जना उर्जावान युवाहरूलाई समेटेर नेता आलमले अभियान चलाए।
लकडाउन खुकुलो भएसँगै सामान्य अवस्था भएकोले बिहिवारबाट अभियान तत्कालका लागी बन्द गरिएको छ । विराटनगरका विभिन्न सडक पेटिमा बस्ने गरिब , असहाय , विपन्न, घरबारविहीन तथा मजदुरहरुलाई निःशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गरेपछी आलमका सहयोगि भावना भएका साथीभाईहरुले सहयोग गरे। आलमको नेतृत्वमा सञ्चालन गरिएको अभियानले बिहान बेलुका गरेर दैनिक ४ सय जनालाई खाना खुवाउँदै आएको थियो । अभियान सञ्चालन भएपछि विभिन्न व्यक्तिहरुले सहयोग गरेको तर कुनैपनी एनजीओ, आइएनजिओ तथा सरकारी सहयोग नलिएको अभियानको नेतृत्व गरेका युवा नेता ओसिम आलमले बताए ।
विगत ८० दिनअघिबाट शुरु भएको अभियानमा सडकपेटीमा बस्ने, मागेरै जीविकोपार्जन गर्ने लगायतलाई खाना खुवाएको अभियानकर्मी आलमले बताए। उनले यस कार्यले धेरैलाई राहत मिलेको बताए। उनले भने, ‘हामिले निस्वार्थ भावनाले सहयोग गरेका हौँ। यो अभियान म एक्लैले चलाएको होइन, यो अभियानमा धेरै युवाहरु हुनुहुन्छ, चेलिहरु हुनुहुन्छ। सबैको निरन्तर मिहेनतले ८० दिनसम्म अभियान चलाउन सम्भव भयो।’
विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि दिनदिनै थपिँदै गइरहेको छ । यस महामारीको सङ्क्रमण र जोखिम रोक्न सरकारले चरणबद्धरूपमा देशमा लकडाउन गर्ने गरेको अवस्थामा सामान्य मजदुरी गरेर दैनिक छाक टार्ने तथा मागेर गुजारा चलाउनेलाई समस्या भएको देखेर निशुल्क खाना खुवाउने अभियान चलाएको आलमले बताए । अभियानलाई नयाँबजारका तरकारी व्यवसायी कोपिन्द्र शिंहले तरकारी सहयोग गरेको आलमले बताए ।
महानगरपालिकाले गरिब, असहाय, विपन्न तथा श्रमिकलाई एकपटक राहत उपलब्ध गराएपनी उक्त राहत वास्तविक पिडितसमक्ष नपुगेको गुनासो सुनिदै आएको छ। निशुल्क खाना खान पाउँदा आफुहरुलाई धेरै राहत मिलेको सडक पेटिमा दैनिक बसेर खाना पर्खिरहेकाहरुले बताए । एकजना मजदुरले भने, ‘सबै बजार भन्द थियो। हामीहरुले केही काम नै नपाएसी खान नै मुस्किल हुन्छ। यस्तो अवस्थामा ८० दिनसम्म हामीले यसरी निशुल्क खाना खान पायौँ। हाम्रालागि उहाँहरु भगवान सरह हुनुहुन्छ। उहाँहरु नभएको भए हामी भोकै मर्थ्यौँ होला।’
युवाहरुको यस कार्यको सबैले खुलेर प्रशंसा गरेका छन् । त्यसो त बेलाबखतमा अभियान असफल बनाउँन दुईचार जना व्यक्तिहरु लागेको पनि आलमले बताए । आफुहरुले निस्वार्थ भावनाले सहयोग गरेको भएपनी केही व्यक्तिहरु अभियान असफल बनाउन लागिपरेको प्रती दु:खद व्यक्त गरे । यसका साथै आलमकै नेतृत्वमा विराटनगरमा कोठा भाडामा बस्दै आएका विद्यार्थीहरुलाई पनि सहयोग सामाग्री वितरण गरिएको थियो।