असार १०, विराटनगर –
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा अनेरास्ववियूले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले एमसीसीलाई हुबहु संसदबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरमा बुधबार विरोध प्रदर्शन गरेको हो।
एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहित विपरीत भएकोले देशको स्वाधीनता र नेपालीको स्वाभिमानसँग सम्झौता गर्न नहुने भन्दै विभिन्न प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनमा उपस्थित अनेरास्ववियूका नेता कार्यकर्ताले ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद, सरकार भिख मागेर समृद्धि आउँछ ?, एमसीसी लागू गर्दा नेपाली सुखी हुन्छ ?, के ५५ अर्ब नेपालीको स्वाधीनता र स्वाभिमानको मुल्य हो ? ‘ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनका क्रममा अनेरास्ववियूका केन्द्रिय नेता तथा मोरङ विद्यार्थी इन्चार्ज ओसिम आलम, केन्द्रिय सदस्य जिसस न्यौपाने , निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहता तथा अनेरास्ववियूका जिल्ला र क्याम्पसका नेताहरूको बाक्लो उपस्थित थियो । विरोध प्रदर्शनमा बोल्दै नेता ओसिम आलमले एमसीसी सम्झौता हुबहु संसदबाट पास गरे त्यो राष्ट्रघात हुने र नेपाल नेपालीको स्वाभिमान विरुद्धको सम्झौता अनेरास्ववियूले स्विकार नगर्ने बताए ।
उक्त सम्झौता विवादित रहेको भन्दै तत्काल खारेज गर्नुपर्ने मागसहित विद्यार्थी नेताहरुले विराटनगरको ट्राफिक चौकमा ब्यानरसहित विरोध गरेका थिए ।साथै केन्द्रीयस्तरमा प्रभावशाली मानिएका अखिलका नेता आलमले देशलाई ५५ अर्ब रुपिँयामा बिक्री गर्न नपाईने भन्दै विरोधमा निस्कनु परेको बताए । उनले अमेरिकालाई नेपालमा खेल्नका लागि निम्ता दिन कम्यूनिष्ट पार्टीको सरकार नहुने दावी गर्दै भने–भित्री पक्ष नै खोतलेर पक्षमा उभिने नेताहरुको भण्डाफोर गर्नु जरुरी छ।
प्रतिनिधिसभामा अनुमोदनका निम्ति दर्ता गरिएको यो सम्झौताको विषयमा अहिले नेकपाभित्र चर्को विवाद छ। पार्टीको बुधबारदेखि सुरु स्थाई समिति बैठकले यसलाई टुङ्ग्याउने तयारी गरिरहेको छ । तर, यो स्वीकार गर्ने की अस्वीकार गर्ने पक्षको मत कसरी प्रकट हुन्छ भन्ने अझै प्रष्ट भएको छैन । सचिवालयका बहुमत सदस्य भने यसलाई अस्वीकार गर्नुपर्ने पक्षमा रहेका छन् ।