असार १३ –
विनाशकारी किरा सलह नेपालमा पनि प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीका केही स्थानमा सलह किरा देखिएको हो ।
सलह किरा यसअघि भारतमा ठूलो समुहमा भित्रिए पनि नेपालमा यसको प्रवेश तत्कालै नआउने विज्ञहरुले बताएका थिए । तर शनिबार भारतीय भूमि हुँदै उक्त कीरा बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नवलपुर लगायतका क्षेत्रमा प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सलह किरा नेपालमा कति संख्यामा प्रवेश गरे र कुन प्रजातीको सलह हो भन्नेबारेमा अनुसन्धान गर्न विज्ञहरु समेत पठाइएको छ । भारतबाट विहान ८ बजेतीर प्रवेश गरेका ती सलहहरु रुखहरुमा बसेको बताइएको छ ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा जस्तै देखिने फट्याङ्ग्राको एक प्रजाति शनिबार नेपालका बारा, पर्सा, मकवानपुर, रुपन्देही र सर्लाही लगायतका जिल्लामा पनि फेला परेको छ ।