असार १४, केराबारी-
युवा विद्यार्थीहरुले मोरङको केराबारीमा एमसीसीविरुद्द प्रदर्शन गरेका छन् । अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको विरुद्धमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहित विपरीत भएकोले देशको स्वाधीनता र नेपालीको स्वाभिमानसँग सम्झौता गर्न नहुने भन्दै विभिन्न प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सङ्गम कान्दङ्वाले बताए । विरोध प्रदर्शनमा उपस्थित अनेरास्ववियूमा आवद्ध युवाविद्यार्थीले ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद, सरकार भिख मागेर समृद्धि आउँछ ?, एमसीसी लागू गर्दा नेपाली सुखी हुन्छ ?, के ५५ अर्ब नेपालीको स्वाधीनता र स्वाभिमानको मुल्य हो ? ‘ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
उक्त सम्झौता विवादित रहेको भन्दै तत्काल खारेज गर्नुपर्ने मागसहित विद्यार्थीहरुले मोरङको केराबारीमा विरोध प्रदर्शन गरेका थिए । प्रतिनिधिसभामा अनुमोदनका निम्ति दर्ता गरिएको यो सम्झौताको विषयमा अहिले नेकपाभित्र चर्को विवाद छ। पार्टीको बुधबारदेखि सुरु स्थाई समिति बैठकले यसलाई टुङ्ग्याउने तयारी गरिरहेको छ । तर, यो स्वीकार गर्ने की अस्वीकार गर्ने पक्षको मत कसरी प्रकट हुन्छ भन्ने अझै प्रष्ट भएको छैन । सचिवालयका बहुमत सदस्य भने यसलाई अस्वीकार गर्नुपर्ने पक्षमा रहेका छन् ।