📝 सुजाता लिम्बू
रातको १२ बजिसकेकोरहेछ । फोनको रिङले बिउँझाईदियो । बल्ल, तल्ल निदाएकी मात्रै थिए । आँखा मिच्दै हेरे, वर्षौ पछि उहि पुरानो नम्बरबाट फोन आएको रहेछ । फोन उठाँउ पुरिसकेको घाउ फेरी बल्झिएला भन्ने डर ।
वर्षौ भएको थियो आधा रातमा धम्किवाला फोन आउन छोडेको, वर्षौ वितिसकेको थियो फोनको गाली सुनेर सिरानी भिज्न छोडेको, फेरी विगत तर्फ नफर्किने साहास बटुले ।
पटकपटक मोबाईल बजिरहयो, वेवास्ता गरे, दोश्रो पटक मोबाईल साईलेनमा राखेर सुत्न खोजे सकिन । छटपटी भयो, मनमा धेरै प्रश्नहरु एकएक गर्दै तछाडमछाड गर्दै आउन थाल्यो ।
मैले त उसलाई त्यहि दिन भुलिसकेकी थिए जुन दिन म उसँग एउटै ओछयानमा पल्टिरहेको बेला रक्सीको नसामा लठ्ठ परेर दोश्रो केटिलाई श्रीमतीको दर्जा दिने हिम्मत गरेको थियो ।
उसको एउटै फोन वार्ता थियो, ‘बुढि के छ खबर, मलाई कस्तो तिम्रो याद आईरहेको छ ।’ हो यहि शब्दले तिम्रो नामको सिन्दुर र पोते लगाउन छोडिसकेकी थिए । तिमिले त त्यहि रात देखि १२ वर्षसम्मको हाम्रो सहयात्रा टुङ्गाएका थियौ ।
साँच्चि तिमिलाई आफ्नै श्रीमतीको अगाडी परस्त्रीलाई बुढी भनिरहाँदा अलिकति पनि जिब्रो लटपटिएन ? अनि तिम्रो फुल जस्ती दुईटी छोरीहरुको माया लागेन ?
मैले त हाम्रो सम्बन्धलाई जोगाउन अथाहा प्रयास गरेकी थिए । आमाबुवाकी एक्ली छोरी, एउटा भाईको एउटी मात्रै चेली अनि समाजले के भन्ला भन्ने समाजको डर पनि राखेकी थिए । तर तिम्रो अत्यचारले सिमा नाघिसकेको थियो ।
त्यो रातको गल्तिको लागि सायद माफि दिनसक्ने थिए होला तर पुनः उहि केटिसँग, उहि नम्बरमा मोबाईलमा रेकर्ड भएको तिमिहरु दुईजनाको अश्लिल फोहारी शब्द सुन्न संयोगले पाए ।
तिम्रो त्यो दोश्रो ठुलो गल्ति थियो, जीवनमा सबैभन्दा धेरै विश्वास गरेको लोग्ने तिमिले नै मलाई धोका दिदैँछौ भने अब के लाई आईतबार बार्ने ? हो त्यहि दिन देखि तिमिलाई डिभोर्स दिने निदो गरेकी थिए ।
००००००००
मेरो विश्वास, आत्मसम्मान माथि ठुलो चोट पुर्याएको तिमिले विर्सिसकेका छौ होला है ? अँह मैले त भुल्न सकेकी छैन । तिमि जनताको जिउ, धन, शान्ति सुरक्षाका लागि खटिने राष्ट्र सेवक थियौ हैन ? तर तिमि त आफ्नै घर गृहस्ती बिगार्न, घरमा अशान्ति मच्याईरहेका रहेछौ मैले त तिमिलाई १२ वर्षसम्म चिनिन ।
थाहा छ तिमिले प्रहरीको पोसाकमा बुटसहित मलाई लात्तिले ढाडमा हान्दा कति पटक स्वास फेर्न सक्दिन थिए, फेरी मेरी छोरी र मेरो परिवारको लागि जिउन हिम्मत बटुल्थिए । अझै भेउ पाएकी छैन मैले त्यो तिम्रो बुटको स्वाद चाख्न म दोषि थिए या तिमि भित्रको अहंकार दोषि थियो ।
सुनन तिम्रो कारणले त्यो बुटधारी र प्रहरी पोषाक लगाएका सबै तिमि जस्तै अहंकारी हुन्छन् होला ठान्थिए, त्यो कालो बुट देख्ने वित्तिकै तिमिले चखाएको स्वाद चाहेर पनि भुल्न सक्दिन थिए । जब मेरो कार्यक्षत्र विराटनगर बनाएर आएर, पेसागत हिसाबले नेपाल प्रहरी, नेपाली सेनासँग चिनजान बढ्यो, सबै तिमि जस्तो अहंकारले भरिएका हुँदैन रहेछ भन्ने सोँच बदलिदै गयो ।
००००००
तिम्रो मेरो सम्बन्ध जोगाउन, अनि हाम्रो नानीहरुको उज्जवल भविष्यका लागि तिम्रो बुटको स्वाद चाख्न तयार थिए, तिम्रो तथानाम गालि सुन्न पनि तयार थिए । तर मैले सुनेकी थिए पलपल मर्दै जिउनु भन्दा एकै पलमा मर्न निको हुन्छ, ।
तिम्रो यातनाले सिमा नाघिसकेको थियो । म पेसाले पत्रकार, कलमको माध्यमबाट अवाज विहिनहरुको आवाज बनेर हिँडिरहँदा अपत्यारिलो घरेलु हिँसाकोे खाल्डोमा आफै परेकी रहेछु ।
हिँसा सहनु पनि अपराध हो भन्ने सोँचे, अपराधको भागेदारी म बन्दिन भन्ने लाग्यो । एउटा खालि कागजको पानामा कालो मसिले एक धर्को हस्ताक्षर गरेर सँधैको लागि तिम्रो र मेरो १२ वर्षको सम्बन्धलाई अन्त्य गरीदिए ।
त्यो दिन देखिको एक्लोपनाको फाईदा उठाउने पुरुष होस या यो समाज सबैसँग हटेर होईन डटेर लड्दै अघि बढिरहेकी छु तर तिमिले पटकपटक चखाएको कालो बुटको स्वाद अझै स्वाद भुलेकी छैन । एउटा भनाई छ ‘भिडमा उभिन जति सजिलो हुन्छ, एक्लै उभिन सहास र हिम्मत चाहिन्छ ।’ आज त्यहि सहास र हिम्मतले एक्लै उभिएर यो नयाँ शहरमा एक्लै हाँस्न, रमाउन थालेकीछु ।
कति गहिरो साोँचमा डुबेछु । विगतलाई नसम्झौ भन्दा भन्दैै दिमागमा कैद भएको पुरानो नम्बरले फेरी वितेको पलमा फर्कायो ।
झस्किएर मोबाईल हेरे ५ मिसकल आएको रहेछ, मोबाईलमा समय हेर्दा घडिको काँटाले ३ बजाएछ । चार वर्षको अन्तरालमा विगतले फेरी एक पटक सिरानी चिसो भएको रहेछ ।