असार २२, विराटनगर –
नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई जनवर्गीय संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ मोरङले पार्टी एकतालाई कमजोर पार्ने कुनैपनी गतिविधि नगर्न अपिल गरेको छ । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्तालाई पार्टी एकतालाई कमजोर बनाउने कुनैपनी गतिविधि नगर्न र कुनैपनी नेताको पक्ष र विपक्षमा परिचालित नहुन अपिल गरेको हो।
विराटनगर स्थित पाञ्चालीमा रहेको पार्टी कार्यलयमा सोमबार अनेरास्ववियू र राष्ट्रिय युवा संघका केन्द्रिय नेता तथा जिल्ला नेताको संयुक्त बैठकले आफ्ना कार्यकर्तालाई पार्टी एकतालाई कमजोर पार्ने कुनैपनी गतिविधि नगर्न, कुनैपनी नेताको पक्ष र विपक्षमा परिचालित नहुन, पार्टी र संगठनका नेताको नकारात्मक टीका टिप्पणी नगर्न अपिल गरेको छ। मोरङ पार्टीको तर्फबाट युवा तथा खेलकुद प्रमुख पर्शुराम बस्नेत, उप प्रमुख इश्वरी आचार्य, अनेरास्ववियू इन्चार्ज ओसिम आलम, सह इन्चार्ज भास्कर खनाल, युवा संघ जिल्ला संयोजक नवीन पौडेल, सह संयोजक शंकर भट्टराई तथा अनेरास्ववियू सह संयोजक टेकेन क्षेत्रीको हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा पार्टीलाई थप एकीकृत र मजबुत बनाउन नेतृत्वलाई दबाव दिने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको केन्द्रिय तहमा देखिएको अन्तर विरोधलाई आधार बनाएर कुनैपनी नेताको पक्ष वा विपक्षमा परिचालित नगर्ने/नगराउने, संगठनले जुनसुकै काॠ गर्दा पनि संस्थागत वा सहमतिका आधारमा मात्र गर्ने/गराउने, पार्टी र जनसंगठन नेता तथा कार्यकर्ताको विषयमा नकारात्मक टीका टिप्पणी नगर्ने /नगराउने, आ-आफ्ना जनसंगठन तथा पार्टीको निर्णयलाई अनुसरण र कार्यान्वयन गर्ने / गराउने , पार्टीलाई एकताबद्ध बनाउन पार्टी नेतृत्वलाई सकारात्मक खबरदारी र दवाद दिने’
पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताविरुद्ध शुक्रबार विराटनगरमा प्रदर्शन गरेका थिए । शुक्रबारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता मधव नेपाल लगायतका नेतालाई गाली गलौज गरिएको भन्दै दाहाल र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब दिएका छन् ।
दुई पक्षबाट लगातार दबाव भएपछि नेकपा मोरङले अनेरास्ववियू र युवासंघका नेताहरुलाई सोमबार बोलाएर यस्ता गतिविधि रोक्न लगाएको हो। मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, सचिव गणेश उप्रेती सुशील सहितको उपस्थितिमा अनेरास्ववियू र युवासँघले पार्टी एकतालाई कमजोर बनाउने कुनैपनी गतिविधि नगर्न अपिल गर्दै विज्ञप्ति निकालेको छ ।