असार २६ –
पार्टीभित्र विवाद चर्किंदै गएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राजेन्द्र राईले नेताहरूका विरूद्ध गाली, अपमान बन्द गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले एकताको जस् लिने, फल खाने, अनि एकीकरणकोचाहिँ विरोध गर्ने क्रम बढेको भन्दै तुरुन्त रोक्न सबैलाई अपिल गरेका छन् ।
“सँगै हिड्नुछ गाली बन्द गरौं,” उनले सामाजिक सञ्जालमा आग्रह गरेका छन्, “कमबेसी गाली दोहोरो छ तर गालीको पनि विश्लेषण गर्ने हो भने पूर्वमाओवादी भन्ने कित्ता छुटयाएर गाली गरिएको छ । पार्टीलाई पनि र नेकपा अध्यक्ष प्रचण्डलाई पनि तर प्रतिक्रियास्वरूप बाहेक (पूर्व माओवादी भनी गरिएको गालीलाई जवाफ दिँदा बाहेक) पूर्वएमाले भनी कित्ता छुट्टयाएर गाली गरेको पाइन्न, पार्टीलाई पनि, व्यक्तिलाई पनि र गाली त सबै बेठीक छन् , त्यसमा पनि पूर्व भन्ने कित्ता छुट्टयाएर गरिने गाली झन् हानिकारक छ, कम्तीमा पार्टी एकताका लागि । त्यसैले सबै गाली रोकौं, यस्ता गाली रोकौं ।”
उनले चुनावी तालमेल नभएको भए, पार्टी एकता नभएको भए अहिलेको परिणाम असम्भव भएको भन्दै पश्चिम बंगाल, पूर्वी युरोप र सोभियत युनियन विघटनबाट पाठ सिक्न आग्रह गरेका छन् ।
पार्टीभित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक विवादकाबीच नेकपाका प्रभावसाली नेता राजेन्द्र राईले आफ्नो सामाजिक सञ्जालमार्फत राखेको आफ्नो मतको पूरा अंश :
सुदृढ एकताका लागि गाली , अपमान बन्द गरौं ! एकताको जस् लिने, फल खाने , अनि एकताको चाहिँ विरोध गर्ने रु यो मिल्दैन बन्द गरौं ! अझै संगै हिड्नुछ गाली बन्द गरौं । कमबेसी गाली दोहोरो छ । तर गालीको पनि विश्लेषण गर्ने हो भने पूर्व माओवादी भन्ने कित्ता छुटाएर गाली गरिएको छ । पार्टीलाई पनि र नेकपा अध्यक्ष प्रचण्डलाई पनि । तर प्रतिक्रिया स्वरूप बाहेक पूर्व माओवादी भनी गरिएको गालीलाई जवाफ दिंदा बाहेक पूर्व एमाले भनी कित्ता छुटाएर गाली गरेको पाइन्न, पार्टीलाई पनि, व्यक्तिलाई पनि । गाली त सबै बेठीक छन्, त्यसमा पनि पूर्व भन्ने कित्ता छुट्याएर गरिने गाली झन् हानिकारक छन् । कम्तीमा पार्टी एकताका लागि । त्यसैले सबै गाली रोकौं । अझ एकताले दिएको सफल परिणामको जस् चाहिँ लिन खोज्ने, त्यो सफलताको फल पनि खाइरहने अनि एकताको विरोध गर्ने, एकता गर्नु नै बेठीक थियो भन्ने , एकताको सह पार्टनरलाई गाली, अपमान गर्ने, यो किमार्थ न्यायोचित हुन सक्दैन , दोहोरो चरित्र हुन जान्छ । जस्तो कि अध्यक्ष एबम् प्रम केपी ओलीलाई दुई कुराको आधारमा हिरो देखाउन खोजिएको छ, पहिलो नेपालको नयाँ नक्सा निर्माण र प्रकाशन, दोस्रो गत चुनावको सफलता । नयाँ नक्सा निकाल्नु भो राम्रो गर्नुभो, त्यसमा अहिले छलफल गर्नै परेन । तर चुनावी सफलताको कुरा गर्ने हो भने के त्यो पूर्व माओवादी र पूर्व एमाले बीच तालमेल नभएको भए अहिलेको जतिको सफलता सम्भव थियो ? तालमेल पछिको सफलताले पनि पूर्व एमालेलाई बहुमत प्राप्त भएको थियो। (२ नं. प्रदेश बाहेक) सबै प्रश्नको जवाफ ‘नो’ आउँछ । अर्थात् पूर्व एमाले र पूर्व माओवादी विच चुनावी तालमेल भएको थिएन भने दुवै पूर्व पार्टीले तालमेलको कारण प्राप्त जति सिट जित्न सक्दैन थिए। पक्कै पनि, चुनावी तालमेल नगर्दा नी पूर्व एमाले पहिलो पार्टी बन्थ्यो। तर कांग्रेसको पनि सिट बढ्न गई पूर्व एमालेकै हाराहारीमा आउँथ्यो । स्थानीय निकायको परिणामले पनि त्यही देखाउँछ । अझ पूर्व एमाले र पूर्व माओवादी वीच तालमेल नभएर पूर्व माओवादीसंग कांग्रेसको तालमेल भएको भए कांग्रेस ठूलो पार्टी बन्ने निश्चित थ्यो । अहिले पार्टी एक भए नी चुनावको रेकर्ड त हेर्न सकिन्छ नै ितालमेलको कारण वा पछि पूर्व एमालेले प्रतिनिधि सभामा प्राप्त गरेको सिट १२१ , पूर्व माओवादीको ५३ सिट हो। केन्द्रको प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ रहेकोले तालमेलको कारण ठूलो सफलता प्राप्त गर्दागर्दै पनि पूर्व एमालेले प्राप्त गरेको सिटले मात्र साधारण बहुमत पुगेको थिएन, पुग्दैन । बहुमत त नेकपा बनेपछि मात्र पुगेको हो , केन्द्रमा पनि र विभिन्न प्रदेशमा पनि । यसको मतलब एकातिर अहिले जस्तो चुनावी सफलता अरु कसैको पालामा आएको थिएन भनेर डंका पिटिए पनि एमालेको नाममा प्राप्त गरिएको सफलता सबभन्दा ठूलो दल हुने सम्मको मात्र हो । त्यो पनि तेस्रो ठूलो पार्टीसंग मिलेर । ठूलो दल हुने सफलता कुनै नयाँ होइन यस्तो सफलता ५१ सालको चुनावमा कमरेड मनमोहन अध्यक्ष र कमरेड माधव नेपाल महासचिव, कमरेड केपी ओली , झलनाथ खनालहरु स्थायी कमिटी सदस्य हुँदै प्राप्त भएको थियो । परिणामतः त्यतिबेला मनमोहन कमरेड प्रम , माधव नेपाल उप प्रम र केपी कमरेड गृहमन्त्री बन्नुभएको थियो । अर्कोतिर पूर्व माओवादी र पूर्व एमाले बीच पार्टी एकता नभएको भए कमरेड केपी बलियो बहुमत वाला सरकारको बलियो प्रम बन्न सक्नु हुन्न थियो । यसको निष्कर्ष पूर्व एमाले र माओवादी चुनावी तालमेल गरेर सफलता हासिल गर्ने , पार्टी एकता गरेर बलियो बहुमतको सरकार बनाउने, प्रम वन्ने , बनाउने, त्यसको रस्वादन गर्ने अनि पूर्व माओवादी भन्दै गाली गर्ने, पार्टी, व्यक्ति, आफ्नै पार्टीको एक अध्यक्ष प्रचण्डलाई, अनि एकता गल्ती भयो भन्ने, यस्ता कुरा किमार्थ उचित भएन, होइन । अर्कोतिरबाट हेर्ने हो भने प्रचण्डले, पूर्व माओवादीले झुत्ती खेलेर, रोई कराई गरेर, बिन्तीपत्र हालेर पार्टी एकता भाको, गरिएको हो र ? साँच्चै भन्ने हो भने त्यतिबेला प्रचण्डले पूर्व एमाले संगको एकताको कुरा सपनामा पनि देखेका थिएनन् होला । एकताको कुरा त कमरेड केपिबाटै उठान भएको होइन र ! त्यही उठान भएको कुरालाई प्रचण्डले स्वीकार गरेको, अरुले साथ दिएको कारणले एकता भएको होइन र ! अनि एकतामा आफैं तान्ने अनि गाली गर्ने, यो मिल्छ र ? फेरि माथि भने जस्तो एकताको परिणामको फल चाहिँ खाई खाई, त्यसमा रमाई रमाई ! थप भन्ने हो भने अझै पनि, फेरि पनि संगै हिँड्नुछ, काम गर्नुछ, एकताबद्ध भएर काम गर्नुछ। हिजोददेखि संकल्प, दुनियाँलाई देखाएको सपना, सपनाका लागि जीवन बलिदान गर्नेहरूको सपना पूरा गर्नुछ । त्यसैले नबाझौं, नफुटौं , त्यसका लागि कसैले कसैलाई गाली नगरौं । फेरि पनि भन्नैपर्छ, चुनावकै माध्यमबाट जगजगी मच्चाएको छिमेक पश्चिम बङ्गालमा कम्युनिष्टको पतन र साम्राज्यवादी अमेरिकालाई उछिनेर विश्वको पहिलो शक्ति बन्दै गरेको सोभियत संघ को लगायत पूर्वी युरोपको समाजवाद ढलेको हामीले देखेका छौं । समाजवादी रोमानियाका राष्ट्रपतिले आज भन्दै थिए ( सत्ता परिवर्तन हुनु भनेको सुन्तलाको रुखमा स्याउ फल्नु जस्तै हो । उनले भनेको भोलिपल्ट जनताले सुन्तलाको रुखमा स्याउ झुन्ड्याई दिए र समाजवादी सत्ता उडाई दिए । यो पनि देख्यौ । हामी त सत्तामा भर्खर आको हो, फेरि यो देशमा क्रान्ति भयो भनिए पनि हो कि होइन जस्तो देखिन्छ कम्तिमा रूस र चीनको तुलनामा । हामीले दिँदै आएको परिभाषा भन्दा धेरै दुब्लो छ । सामन्तवाद बिरुद्धको वा पुँजीवादी क्रान्तिको नेतृत्व श्रमिक वर्ग वा त्यसको अगुवाइ गर्ने कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र हुन्छ र क्रान्ति पछिको सत्ता पनि श्रमिक वर्ग वा त्यसको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको हातमा आउँछ । नेपालमा त्यो दुवै भएन । त्यसैले पनि वास्तविक अर्थमा क्रान्ति पूरा गर्न पनि सुदृढ एकता चाहिन्छ, त्यसैले कसैले कसैलाई गाली नगरौं ।