साउन ५ –
नेपालमा आजबाट लगातार ३ दिन भारी वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आजबाट मनसुनी वायुको प्रभाव देशभर नै फैलिएको छ ।
अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण देशभर बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आजबाट लगातार बुधवार रातिसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, प्रदेश–५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेकोले देशभरका ठुलादेखी साना नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान विभागले जनाएको छ ।