साउन २०, काठमाडौ –
प्रधानमन्त्री केपि शर्मा ओलिलाई जनस्वास्थ्य विज्ञहरुले लकडाउन फेरि बढाउन सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न सुझाव दिएका हुन् ।
विज्ञहरुले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।
छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताएका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीले भने जनताले नै सरकारको आग्रह नसुनेकाले कोरोना भयावह अवस्थामा पुगेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भने पनि नागरिकले नै बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिने भन्दै कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताएका छन् ।
उनले कोरोनाको संक्रमणको अवस्था बुझेरमात्रै लकडाउन गर्ने नगर्ने भन्ने निर्णय लिने बताएका छन् ।
ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बैठक बोलाएका थिए ।