साउन २१, विराटनगर –
मनोमानी शुल्क असुल्ने निजि शैक्षिक संस्थालाई कारबाहीको माग गर्दै मोरङका विद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । मोरङका विभिन्न ५ विद्यार्थी संगठनहरुले बुधबार प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएका हुन् ।
त्यस्तै विद्यार्थी संगठनहरुले विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई समेत ज्ञापनपत्र बुझाएका छन् । कोरोनाको त्रासदीपुर्ण अवस्थामा निजि शैक्षिक संस्थाले कुनै न कुनै रुपमा अभिभावकहरुसँग शुल्क असुल्ने कार्य भएकोले यस्ता कार्य तुरुन्तै रोक्न सबै शैक्षिक संस्थालाई परिपत्र गर्नुपर्ने र अटेर गरे कडा कारबाही गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।
अनेरास्ववियू, नेविसंघ , समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघद्वारा संयुक्त रुपमा बुझाईएको ज्ञापनपत्रमा लकडाउन अवधीमा भर्नाशुल्कका नाममा उठाएको रकम फिर्ता गर्नुपर्ने माग छ। त्यस्तै उनिहरुले सबै सरोकारवाला निकायहरू सँग छलफल गरि शुल्क निर्धारण मापदण्ड अनुसार शुल्क निर्धारण भएपछि मात्र भर्ना गर्नुपर्ने समेत माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
अनेरास्ववियूका सह संयोजक टेकेन शेत्री प्री एड्मिसनको नाउँमा अभिभावकहरुलाई अनेक दबाब दिएर मनोमानी शुल्क उठाईरहेको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी र विराटनगर महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको बताए । उनले भने , “कोरोना कहरको त्रासदी, अभिभावकहरु विकराल अवस्था, कलिला विद्यार्थीहरुको तनावपूर्ण मनोवैज्ञानिकलाई पुर्ण रुपमा उपेक्षा गरि विशुद्ध व्यापारीक मनसायले कुनै न कुनै रुपमा शुल्क असुल्ने कार्य तुरुन्त रोक्नुपर्छ। निजि शैक्षिक संस्थाले हाम्रो मागको बेवास्ता गरे हामी जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौँ।”
प्रमुख जिल्ला अधिकारी र विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शैक्षिक महाशाखा प्रमुख दुबैले यसलाई गम्भीर रुपमा लिएको र शुल्क उठाउने कार्य तत्काल रोक्न आवस्यक कदम चालिने आश्वासन दिएको अनेरास्ववियूका सह संयोजक टेकेन शेत्रीले बताए ।