संसारभर फिँजिइसकेको कम्युनिष्ट विचार र दर्शनका एकजना विख्यात नेता माओत्सेतुङले भनेका छन्, “राक्षससित नडराऊ, लाज नमान, कायर नबन । साहसी र दृढ होऊ । हाम्रा केही कामरेडहरूको चरित्र कमजोर छ । उनीहरू गलत चिन्तनबाट मुक्त भएका छैनन् । उनीहरू दोष हटाउन डराउँछन् । कार्यकर्ताहरूमा सत्यतामा कायम रहने साहस हुनुपर्दछ र उनीहरूले सामन्ती कालको व्यवहारको अनुसरण गर्नु हुँदैन ।” माओत्सेतुङको यो भनाई कतिको सान्दर्भिक छ भन्ने कुरा अहिले देखिएको नेपाल कम्युनिस्ट पार्टीको विवादले प्रष्ट हुन्छ ।
२०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी अहिले आन्तरिक विवादको भुमरीमा अल्झिरहेको छ । पार्टी एकताभन्दा अगाडि तत्कालीन एमाले र माओवादीले चुनावी गठबन्धन गरेपछि जनताले दरिलो बहुमत अर्थात झण्डै दुई तिहाइ बहुमत दिए। नेपाली जनताले ठूलो आशा र भरोसाका साथ कम्युनिस्ट पार्टीलाई एकलौटी सत्ता सञ्चालनको जिम्मेवारी पनि दिए । जनताले साथ दिएपछि आश्चार्यजनक रुपमा दुई कम्युनिस्ट पार्टी मिलेर एक भए । त्यतिबेला कम्युनिस्ट विचारमा आस्था राख्नेहरु र समग्र जनता अझ खुशी भएका थिए । तर अहिलेको नेकपाको किचलो देखेर जनता त वाक्क नै भएका छन् भने कार्यकर्तामा पनि निराशा छाएको छ ।
कम्युनिस्टहरु आफुआफु जुधेर सकिन्छन् भन्ने तितो भनाईहरु बेलाबेला सुन्दै आएका थियौँ । अहिलेको नेपाल कम्युनिस्ट पार्टीको अवस्था हेर्दा कतै यो भनाई वास्तविक त होइन भन्ने महसुस हुन थालेको छ । नेताहरुको जुँगाको लँडाईले जगत हाँसिरहेको छ अहिले। एउटा सामान्य क्लब, संघसंस्थामा त विवाद हुन्छ भने यत्रो विशाल राजनैतिक पार्टीमा विवाद नहुने कुरा होइन तर विवादको कारण के हो र विवादले कस्तो मोड लिईरहेको छ भन्ने महत्वपूर्ण हुन्छ । विवाद उत्पन्न भएमा आन्तरिक छलफल वा बैठकबाट हल गर्नुपर्नेमा एक अध्यक्ष बैठक बस्नै नचाहने , बैठक बसिहाले बैठकबाटै भाग्ने गर्नाले समस्या झन झटिल बन्दै गएको छ भन्ने स्वयं उहाँहरुलाई नै आभास भएको होला । नेताहरु आफ्ना केही आसेपासेहरुको घेराबन्दीमा रमाएर मेरो गोरुको बाह्रै टक्का शैलिले प्रस्तुत हुँदैगर्दा समग्र कार्यकर्ताको भावना केछ ? जनताले कसरी हेर्दैछन् भन्ने ख्याल गरेको पटक्कै देखिँदैन् ।
स्थायी समितिको वैठक प्रारम्भ भएपश्चात नेकपाको नेतृत्व तहमा देखिएको विवादहरुको शृंखला र बजारमा आएको हल्लाले नेकपा एकता भन्दा विभाजन तर्फ जाने होकि भन्ने संकेत देखिएपछि समग्र कार्यकर्ता चिन्तित छन् । ति तमाम चिन्ता गर्नेहरु आन्तरिक रुपमा पार्टीका कुनै न कुनै नेताहरुको निकट होलान तर उनीहरु सबै नेतृत्व पंक्तिको दरिलो एकता र देशलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपनालाई साकार पार्ने पक्षमा छन् । त्यती मात्रै हैन कार्यकर्ताहरु नेकपाको सरकारले देखाएका सम्वृद्धिको सपना साकार हुने विश्वासमा भोट दिने जनतासामु गर्वका साथ प्रस्तुत हुन पाइयोस् भन्ने चाहन्छन् तर अहिलेको अवस्थामा एउटा सामान्य कार्यकर्ता पनि नेकपाको कार्यकर्ता हुँ भनेर भन्न लजाउनु पर्ने अवस्था छ । पार्टी एकीकरण हुँदा अध्यक्षद्वयले प्रधानमन्त्री निवास बालुवाटारको पार्कमा हिरोसिमा र नागासाकीमा आणविक आक्रमण हुँदासमेत नमरेको ‘जिंक्गो वाइलोवा’ रुख रोपेर पार्टीलाई पनि बलियो बनाउँछौं भन्ने संदेश दिनुभएको थियो तर अहिले त्यो विरुवाको नामको ‘जिंक्गो’ एकातिर र ‘वाईलोवा’ अर्कोतिर मुख फर्काएर बसेजस्तै भएको छ ।
कार्यकर्ताहरु ओली, दाहाल, नेपाल, खनाल वा अरु कोहि अमुक नेता विशेषको हितभन्दा समग्रमा नेकपाको र नेकपाको सरकारले देशलाई समृद्ध बनाएको हेर्न चाहन्छन् । कार्यकर्ताहरु मार्फत विभाजन हैन एकता चाहन्छन् । जनताको आशा र भरोसा पनि यहि हो। नेतृत्व तहले अहिले नेकपाको एकता कायम होस, हुनुपर्छ र हुनसक्छ भन्ने ठान्ने नेकपाका अधिकांश नेता कार्यकर्ताहरुको भावनाको कदर गर्नुपर्छ ।
हुन त नेकपाको विवादको कारण एकता प्रक्रिया नै थियो भन्दा फरक नपर्ला किनभने एकता गर्दैगर्दा दुई अध्यक्षले मात्र चोँचोमोचो मिलाईएको थियो अर्थात पदको सम्झौता गरेर पार्टी एकता गरिएको थियो भन्ने सबैलाई थाहा भएकै हो । त्यतिबेला सबैले एकता चाहन्थे र खासै विवाद भएन तर एकतासँगै विधिलाई पनि सँगसँगै लगिएको भए आज यो अवस्था आउने थिएन कि ? एकता गर्दा एकता महाधिवेशन सम्म दुई अध्यक्षको सहमतिमा पार्टी चलाईने भनिएको थियो। त्यसो भन्दैगर्दा दुई वर्षमा पार्टीको एकता महाधिवेशन पनि गर्ने भनिएपनी त्यो सम्भव नहुँदै गर्दा र पार्टीमा चरम विवाद उत्पन्न भएपछि विधिसम्मत तरिकाले बैठकबाट विवाद समाधान गर्नुपर्ने हो। सचिवालय बैठकबाट समस्या समाधान नभएपछि स्थायी कमिटी बैठक पनि बोलाईयो तर एकजना अध्यक्ष कहिले बैठकमै नआउने त कहिले बैठकबाटै भाग्ने अनि कहिले एकलौटी बैठक स्थगित गर्नु पक्कैपनि उचित थिएन् । बहुमतको निर्णय नै पार्टीको निर्णय हुन्छ भनेर विधानमा प्रष्ट उल्लेख हुँदाहुँदै विधानलाई बेवास्ता गर्नु राम्रो होइन् । विधानको व्यवस्था लागु गरि पाउँ भनेर पार्टी कार्यलयमा धर्ना दिनुपर्ने अवस्था आउनु, स्थायी कमिटी बैठक बोलाई पाउँ भनी हस्ताक्षर गर्नुपर्ने अवस्था कसरी आयो भन्ने नेतृत्व तहले बुझ्नु आवस्यक छ । पार्टीको बैठकबाट भाग्ने, डराउने र अर्को हिसाबमा समस्या समाधान गर्छु भन्ने मानसिकताले समस्या झन बढिरहेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलिले दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउनु (यद्यपि अध्यादेश फिर्ता भैसकेको छ), अकस्मात संसद विघटन गर्नु तथा पुर्व एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनु र ओलिले पार्टी फुटाउन लागेको हल्ला आउनुले पक्कैपनी नेकपाका ८ लाख कार्यकर्ता खुशी छैनन् । प्रधानमन्त्रीले आफ्ना केही आसेपासे बाहेक बाहिरी कार्यकर्ताको भावना कहिल्यै बुझ्न नचाहेको देखिन्छ । बजारमा आएका हल्लाहरुलाइ मान्ने हो भने विभाजन गर्ने तयारीमा प्रधानमन्त्री लाग्नु भएको छ तर कार्यकर्ता त्यो मान्न तयार देखिदैनन। कार्यकर्ताहरुले एकता चाहने केपि ओलि चाहन्छन् बिभाजन गर्ने होइन। तर केपि ओलिको नाम भजाएर राजनीति गर्नेहरुले सामाजिक संजालमा लामो त्याग र वलिदानको इतिहास भएका नेताहरुको मान मर्दनमा खर्चिएका शव्दहरुबाट स्वयं प्रधानमन्त्रीको अवमूल्यन भैरहेको छ । एकता भाँड्ने, भ्रम फैलाउने , जनतासामु नेकपालाई गलत देखाउने काम यिनिहरु बाटै भैरहेको छ । अनि यसलाई स्वयं शिर्ष नेताहरुले नै प्रसय दिएको देखिन्छ । यस्ता व्यक्तिहरु बाट सच्चा कार्यकर्ता र नेकपालाई नियालिरहेका जनताहरुलाई अझ निराश तुल्याएको छ । सर्वप्रथम प्रधानमन्त्रीले यस्ता तत्वहरुलाई रोक्नु जरुरी छ ।
शीर्ष नेताहरू पार्टी एकताताकाको सहमतिमा अड्किएको भए अहिले पार्टीको एकता महाधिवेशन पनि भैसक्नु पर्ने हो तर आन्तरिक विवाद मिलाउनमै पनि नेताहरु सक्षम भएको देखिँदैनन्। पार्टी एकता गर्दा दुई वर्षमा महाधिवेशन गर्ने भनिएपनी अहिलेसम्म पार्टी एकीकरण प्रक्रिया पूरा भएको छैन् । बरु यो दुई वर्ष आन्तरिक द्वन्दकै बिचमा रुमलियो भने अहिले अझ जटिल मोडमा आइपुगेको छ । अहिले देखिएको विवादको मुख्य कारण सरकारले पार्टी चलाउने कि पार्टीले सरकार चलाउने भन्ने पनि हो। निर्वाचनका बेला पार्टीले घोषणापत्र जारी गर्छ र जनताले त्यसलाई विश्वास गरेर मतदान गर्छन् । जब सरकार बन्छ, तब त्यसले चुनावी घोषणापत्रलाई मुख्य आधार बनाएर आफ्नो नीति तथा कार्यक्रम अगाडि बढाउनुपर्छ र त्यसलाई जनतासमक्ष पुर्याउने काम पार्टीले गर्छ। तर अहिले सरकार पार्टीबाट चलेजस्तो देखिंदैन। न पार्टी नै राम्रोसँग चल्न सकेको छ। अहिले जुँगाको लँडाई गर्नुभन्दा बरु सैद्धान्तिक वा वैचारिक लँडाई भएको भए यतिबेला निष्कर्षमा पुगिसकेको हुन्थ्यो होला जसले गर्दा महाधिवेशनका लागि बाटो सहज हुनेथियो तर अहिलेको अवस्था हेर्दा महाधिवेशन तत्कालै होला भन्ने अपेक्षा गर्न सकिँदैन् ।सरकारले नीतिगत र महत्वपूर्ण निर्णय गर्दा पार्टीलाई बेवास्ता गर्नुले अहिले पार्टी र सरकारबीच समन्वय हुन सकेको देखिँदैन्। प्रधानमन्त्रीले राजनीतिक नियुक्ती गर्दा विवादित र आफ्नै गुणगान गाउने व्यक्तिलाई एकलौटी नियुक्ति गरेको देखिन्छ, एकपटक पार्टीको सचिवालयमा छलफल गर्न सकिन्थ्यो । यसरी हेर्दा सरकार र पार्टी विच समन्वय हुन नसक्नु पनि विवादको मुख्य कारण देखिन्छ, यसलाई तत्काल अन्त्य गर्नुपर्छ । विवादको अर्को कारण सरकारले अपेक्षित काम गर्न नसकेकोले प्रधानमन्त्री ओलि सरकार वा पार्टी एक छाड्नुपर्छ भन्ने पनि हो । जगजाहेर नै छ सरकार पछिल्लो पटक धेरै विवादमा आएको कुरा । यस्तो अवस्थामा प्रधानमन्त्रीको राजिनामा माग्नु स्वभाविक नै हो। कसलाई प्रधानमन्त्री बनाउने वा फिर्ता बोलाउने, पार्टीको अध्यक्ष को ? यस्ता प्रश्नहरू जुनसुकै पार्टीमा पनि उठ्ने गरेका हुन्छन् तर कम्युनिस्ट पार्टीमा त्यस्ता प्रश्नहरू हल गर्ने निश्चित विधि र पद्धति हुन्छन् ।समझदारी नभए जारी स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकको बहुमतबाट निर्णय गरेर अघि बढे देश, जनता र नेकपाले नै जित्नेछ ।
कार्यकर्ताहरु ओली, दाहाल, नेपाल, खनाल वा अरु कोहि अमुक नेता विशेषको हितभन्दा समग्रमा नेकपाको र नेकपाको सरकारले देशलाई समृद्ध बनाएको हेर्न चाहन्छन् । कार्यकर्ताहरु विभाजन हैन एकता चाहन्छन् । जनताको आशा र भरोसा पनि यहि हो। नेतृत्व तहले अहिले नेकपाको एकता कायम होस, हुनुपर्छ र हुनसक्छ भन्ने ठान्ने नेकपाका अधिकांश नेता कार्यकर्ताहरुको भावनाको कदर गर्नुपर्छ । गुटगत भेला गरेर एकअर्कालाई गलाउने रणनीति बनाएर विवादलाई अझ जटिल बनाउने काम गर्नुभन्दा अब समाधानका लागि लचक हुनु आवस्यक छ । स्थगित स्थायी कमिटी बैठकबाट नै समस्याको समाधान गरेर चाँडो एकता महाधिवेशनको लागि अग्रसर हुनुपर्छ । झन्डै दुईतिहाई मत सहित जनताले दिएको आशिर्वादलाई बेवास्ता गर्नुहुँदैन् । यस्तै विवादका बिच वा पार्टी नमिलाएर, फुटाएर अर्को पटक जनतामा भोट माग्दै जाँदा जनताले के भन्छन् भन्ने नेतृत्व तहले बुझ्नु जरुरी छ। तर कार्यकर्तामा विश्वास छ कि हाम्रा धेरै नेताहरु पटकपटक प्रधानमन्त्री, लामो समय पार्टी अध्यक्ष र महासचिव भइसक्नुभएको छ। त्यसैले त्यही पदका लागि पार्टी फुट्ला कि भन्ने कुरा सोच्न पनि सकिँदैन् । जसरी हिजो दुई कम्युनिस्ट पार्टी एक भएर विशाल नेकपा बन्दैगर्दा सबै उत्साहित र खुसी भएका थिए अहिले पनि सबैले मिलेको देख्न चाहन्छन् ।
अन्त्यमा, नेकपामा मात्र नभएर कम्युनिष्ट आन्दोलनमै व्यक्तिवादी सोच हावी हुँदै गएकोले सिद्धान्त र विचार राम्रो भएपनि व्यक्तिगत स्वार्थ वा टकरावका कारण समस्या उत्पन्न हुने गरेको छ । समस्याको समाधानका लागि विधिसम्मत छलफल गर्नुको विकल्प छैन्।आपसी विवादलाई पार्टी फुट वा पद बाँडफाँटको रुपमा लिँदा भोलिका दिनमा अझ समस्या उत्पन्न हुन्छ भन्ने अहिले आएर प्रष्ट भएको छ ।समझदारीबाट समस्या समाधान नभए विधिसम्मत तरिकाले अल्पमत वा बहुमतबाट निकास निकाल्न सकिन्छ । यसका लागि गुटमा रहेर फुटको खेति गर्न चाहने सिमित व्यक्तिको भन्दा एकता चाहने असिमित व्यक्तिहरुको भावनाको कदर गर्दै पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओलीले अग्रसरता लिनुहुनेछ भन्ने विश्वास छ ।