भदौ ८
जर्मन क्लब बायर्न म्युनिख छैटौं पटक युरोपियन च्याम्पियन बनेको छ । गएराति भएको च्याम्पियन्स लिग फुटबलको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीलाई १–० ले पराजित गर्दै बायर्न छैटौं पटक च्याम्पियन बनेको हो ।
बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
पहिलो पटक फाइनल पुगेको पीएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक सपनामै सिमित भयो । बायर्न भने २०१३ पछि पहिलो पटक फाइनल पुगेको हो । च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा बायर्न लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले ७ पटक उपाधि जितेका छन् ।
बायर्नले सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो । ११ पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको बायर्न ५ पटक भने उपविजेता बनेको थियो । बायर्नले यस सिजन कुनै पनि खेल नहारी उपाधि जितेको हो ।