भदौ १० –
स्टार फुटबलर लियोनेल मेस्सीले बार्सिलोना छाड्न चाहेको कुरा पुष्टि भएको छ । बार्सिलोनाले मेस्सीले फ्याक्स मार्फत पत्र पठाएको पुष्टि गरेको छ ।पछिल्लो पटक बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बायर्न म्युनिकसँग ८-२ ले हार व्यहोरेपछि मेस्सीले क्लब छाड्ने चर्चा चलेको थियो ।
मेस्सीले बार्सिलोनासँगको करिब दुई दशक लामो कन्ट्राक्ट अन्त्य गर्न चाहेका हुन् । उनको कन्ट्राक्ट सन् २०२१ मा सकिदैछ । मेस्सीले सन् २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए ।
मेस्सीले क्लबलाई १० स्पेनिस लिग उपाधि र ४ च्याम्पियन्स लिग जिताएका थिए । दुई दशक लामो बार्सिलोना बसाईमा मेस्सीले क्लबलाई र क्लबले मेस्सीलाई पनि धेरै कुरा दिए । जस्तो कि मेस्सीले ६ पटक बालन डि ओर अवार्ड नै हात पारे । जुन अहिलेसम्म सबैभन्दा धेरै बालन डि अर जित्ने खेलाडी नै मेस्सी बने ।
अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सीका लागि अहिले कुन क्लब जाने भन्ने निश्चत भइसकेको छैन । तर, पनि अब उनी क्लब छाड्न चाहेको कुरा स्पष्ट भइसकेको छ । यद्यपि अन्तर्राष्ट्रिय सञ्चार जगतमा उनलाई लिन प्रिमियर लिग टिम म्यान्चेस्टर सिटी तयार रहेको भन्ने समाचारहरु आइरहेका छन् ।