भदौ ११ –
नेपाली लिग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार उत्कृष्ट प्रदर्शन गरेका छन्। यद्यपि उनी अनुबन्धित जमैका तलावाजले भने तेस्रो हार खाएको छ ।
आज बिहान भएको खेलमा सन्दीपको टिम जमैकाले डिफेन्डिङ च्याम्पियन बार्बाडोससँग ३६ रनको हार बेहोर्नु पर्यो। तर सन्दीपले भने आफ्नो किफायती बलिङ जारी राखेका छन्। उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर महत्त्वपूर्ण २ विकेट हात पारे । सन्दीपले जारी सिपिएलमा ५ खेल खेल्दै ७ विकेट लिएका छन्। उनले जारी सिपिएलमा ७५ बल फाल्दा पहिलो बाउन्ड्रीको रुपमा चौका दिएका थिए।
यता जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सकेको थियो । जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन बनाएको थियो ।
टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाका स्पिनरद्वय सन्दीप लामिछाने र मुजिब उर रहमानले खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । उजिब उर रहमानले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर ३ विकेट हात पारे ।
बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन जोडेको थियो । जमैकाले यस अघिका २ खेलमा जित हात पारेको थियो भने २ खेलमा हार खाएको थियो ।