भदौ १४ –
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लगातार सानदार प्रदर्शन गरेका छन्। आज बिहान भएको खेलमा सन्दिपले जमैका तलावाजका लागि महत्वपूर्ण २ विकेट लिँदै टिमलाई तेस्रो जित दिलाएका छन्।
जमैकाले सेन्ट किट्सलाई ३७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको जमैकाले ६ विकेटको क्षतिमा १४७ रन जोडेको थियो । उसका लागि ओपनर ग्लेन फिलिप्सले सबैभन्दा बढी नटआउट ७९ रन जोडे। उनले ६१ बलमा २ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै , जर्मिन ब्ल्याकउडले २७ रनको योगदान दिए। बलिङमा सेन्ट किट्सका रायद इमरिटले ३ विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भयो। उसका लागि इभिन लेविस र केइरन पावेलले सबैभन्दा बढी २१-२१ रन जोडे। अन्य ब्याट्सम्यान जमैकाका बलरले चल्न दिएनन् ।
बलिङमा जमैकाका कार्लोस बाथवेटले ३ विकेट लिए। नेपाली स्पिनर सन्दीप लामिछाने, फिडेल इडवार्ड र विरास्वामी पेरमलल २-२ विकेट लिन सफल भए। सन्दीपले ४ ओभरमा २७ रन खर्चिए। उनले १२ बल डट फ्याँक्दा १ चौका र २ छक्का दिए।
सन्दीपले जारी प्रतियोगिता लगातार छैटौं खेलमा विकेट लिएका हुन्। उनले तीन खेलमा २-२ विकेट लिएका छन् भने तीन खेलमा १-१ विकेट हात पारेका छन्। जससँगै उनले ६ खेलबाट ९ विकेट लिन सफल भए। उनी जारी सिपिएलको सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा पाँचौ स्थानमा छन् ।
जितसँगै ६ अंक जोडेको जमैका अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको ट्रिन्बागो नाइटराइडर्सको १२ अंक छ भने दोस्रो स्थानको लेस्ट लुसियाले ८ अंक जोडेको छ।