भदौ १६, विराटनगर –
विराटनगरका विभिन्न सडक पेटिमा बस्ने गरिब मजदुरहरुलाई निशुल्क खाना खुवाईरहेको समूहले ११ अपांग परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सोमबार युवाहरुको समूहले ११ अपांग परिवारलाई विराटनगरस्थित संसारीमाईं मन्दिरको प्रांगणमा खाद्यान्न वितरण गरेको हो ।
वितरण गरिएको खाद्यान्नको प्याकेजमा १३ केजी चामल, तरकारी, तेल र नुन उपलब्ध गराइएको युवा अभियन्ता ओसिम आलमले बताए । विराटनगर महानगरपालिका र नेपाल अपांग महासंघमा पटक–पटक समस्या बताएपनि सहयोग नपाएका विपन्नहरूलाई सो समूहले सहयोग गरेको हो । सञ्जय थापा मगरले भने, ‘हाम्रो लागि आज सम्म प्रदेश सरकार, स्थानीय सरकारले वेवास्ता गर्यो, हाम्रो हितका लागि बनेको राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधिले त झनै वेवास्ता गरे । कसैले हाम्रो कुरा नसुनेपछी ओसिम आलमले हामिलाई सहयोग गर्नुभयो ।
‘हाम्रो उदेश्य कोहिपनी भोकभोकै बस्नु नपरोस् भन्ने नै हो। सरकारहरुले यी गरिब दुखीको समस्या देख्दैन त्यसैले हामिले सकेको सहयोग गरिरहेका छौँ।’ ,ओसिम आलमले भने, ‘ एक हप्तादेखि हामी समस्यामा छौ भनेर फोन आएपछि हामीले सहयोग गर्दा केहिलाई राहत मिल्छ भने किन सहयोग नगर्ने भन्ने सोंचले निःशुल्क खाना खुवाउने टिमले राहत वितरण गरेका हौँ ।’
युवा समूहले अपांग परिवारलाई सहयोग गरेको यो तेस्रो पटक हो । संघीय सरकारले लगाएको झण्डै चार महिना लामो लकडाउनमा समस्या परेको अपांग परिवारलाई आलमले नेतृत्व गरिरहेको युवा समूहले दुई पटक खाद्यान्नसहितको राहत सामग्री उपलब्ध गराएको थियो ।