भदौ २१ –
नेपाली क्रिकेटर सन्दीप लामिछानेले वेस्ट ईन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा निरन्तर विकेट लिइरहेका छन् । तर उनको टिमले भने यस सिजनको पाँचौ हार व्यहोरेको छ ।
सेमिफाइनलमा स्थान पक्का गरिसकेपनि जमैका बार्बेडोस ट्राइडेन्सँग ७ विकेटले पराजित भएको हो । उक्त खेलमा सन्दीपले १ विकेट लिए ।
लिग चरणमा ९ खेल खेल्दा जमैकाले ३ खेल मात्र जितेको छ । एक खेल नतिजाविहीन हुँदा अंक बाँडेको थियो ।
जमैकाले दिएको १६२ रनको लक्ष्य बार्बेडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । बार्बेडोसका लागि कप्तान ज्यासन होल्डरले सर्वाधिक ६९ रन बनाए । होल्डरलाई सन्दीपले लामिछानेले एल्बीडब्ल्यु आउट गरेका थिए ।
यस्तै बार्बेडोसका लागि जोनाथन कार्टरले ४२ रन बनाए भने मिचेल स्यान्ट्नरले अविजित ३५ रन जोडे । जमैकाका लागि सबैभन्दा किफायती बलिङ गरेका सन्दीपले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा गरेको तल्लावाहजले जर्मेन ब्लयाकउड र आन्द्रे रसेलको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । जमैकाका लागि ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए । यस्तै रेसलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ५४ रन योगदान गरे । बार्बेडोसका लागि जोसुअ बिसोप, ज्यासन होल्डर, रासिद खान र हायडेन वाल्सले १/१ विकेट लिए ।
सन्दिपले जारी लिगमा ९ खेलमा ८ इनिङ बलिङ्ग गर्दै ११ विकेट लिएका छन् । वर्षाले प्रभावित एक खेलमा भने सन्दिपले बलिङ गर्न पाएनन् । उनले बलिङ गरेको कुनैपनि खेलमा जिकेटबिहीन भएका छैनन् । उनि सर्वाधिक विकेट लिने खेलाडिको सुचिमा ५ औं स्थानमा छन् ।