भदौ २१, राजविराज –
प्रदेश नं. २ को सप्तरी राजविराजमा एक घर एक पिसिआर परीक्षण सुरु गरिएको छ । समाजिक सँस्था सहयोद्धाले एक घर एक पिसिआर अभियानलाई निरन्तरता दिँदै शनिवार राजविराज नगरपालिका वडा नं. २ मा पिसीआर परीक्षणको लागि स्वाब संकलन गरेको छ ।
गत आइतबरदेखि राजविराज नगरपालिकालाई केन्द्रित गर्दै सुरु गरिएको अभियान अन्तर्गत वडा नं. ८ मा पहिलो चरणको कार्यक्रम गरिएको थियो । यस अभियान अन्तर्गत शनिवार वडा नं. २ स्थित राजदेवी स्कुलमा गरिएको पिसीआर परिक्षण दिउँसो ४ बजे देखि सुरु भएको थियो ।
एक घरबाट कम्तिमा एक जनाको परिक्षण गर्ने उद्देश्य राखेर संचालित कार्यक्रममा ७२ घरबाट ७२ नमुना स्वाब संकलन गरिएको संस्थाका सचिव प्रतिष्ठा यादवले जानकरी गराए । कार्यक्रममा स्वाब संकलन गराउन आएका स्थानियहरु समाजिक दूरी कायम गरी मास्क जस्ता सुरक्षात्मक उपायहरू अपनाएको जस्ता कुराहरू माथि हाम्रा उपस्थित संस्थाका सदस्यहरूले कडा निगरानी राखेको कुरा संस्थाका अध्यक्ष रबिन्द्र यादवले बताए ।
त्यहाँ उपस्थित संस्थाका सदस्यहरूको लागी पनि सुरक्षाको लागि विशेष ध्यान पुर्याएको कुरा पनि उनले बताए । अमर मण्डलको संयोजकत्मा सम्पन्न उक्त अभियानमा राजविराज नगरपालिकाका में.सु डा. रन्जित झाको आतिथ्यमा कार्यक्रमको सुरुवात गरिएको थियो । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न हाम्रो समाज हाम्रो गौरव ,राजदेवी युवा समाज साथै वडा नं २ का जनप्रतिनिधिले पनि सहयोग गरेका थिए । “आगामी दिनहरुमा समाजमा सबैको साथ सहयोग र सहकार्यका साथ अगाडी बढ्ने दृढ निश्चयका साथ हामी सहयोद्धा परिवार लागिपरेका छौँ” भन्ने कुराको कार्यक्रम सञ्चालक अमर मण्डलले प्रतिबद्धता जनाए ।
कोरोना महामारीले आक्रान्त भएको बेला सहयोद्धा परिवारले समुदायमा यसको संक्रमण फैलिन नदिन यो अभियानको थालनी गरेका हुन् ।