भदौ २२ –
वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलावाज छैटौं हार बेहोरेको छ । यसअघि नै सेमिफाइनलमा पुगिसकेको जमैका आइतबार भएको लिगको अन्तिम खेलमा सेन्ट लुसियासँग ११ रनले पराजित भयो ।
पहिले ब्याटिङ गरेको लुसियाले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो । उसका लागि रोस्टन चेसले नटआउट ३२ रन र नाजिबुल्लाह जार्डानले ३५ रन जोडे।
बलिङमा जमैकाका मुजिब उर रहमानले २ विकेट लिँदा सन्दीप, फिडेल इडवार्ड, कार्लोस बाथवेट र पर्मेलले १-१ विकेट लिए। सन्दीपले ४ ओभरमा २० रन दिए भने एक ओभर मेडन फ्याँके। उनले १ चौका र २ छक्का बेहोरे।
१४६ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन मात्र जोड्न सक्यो।
उसका लागि ग्लेन फिलिप्सले सबैभन्दा बढी ४९ रन जोडे। ब्ल्याकउड र निकोलास किर्टोलले २५-२५ रन जोडे। ब्याटिङमा पनि उत्रिएका सन्दीप डकआउट भए।
सेमिफाइनलमा अब जमैकाले शीर्ष स्थानको ट्रिन्बागो नाइटराइडर्ससँग मंगलबार खेल्नेछ। सेन्ट लुसिया र गुयनाबीच अर्को सेमिफाइनल खेल हुनेछ।