भदौ २३ –
युइएफए नेशन्स लिगमा इटलीले पहिलो जित हात पारेको छ । लिग ए अन्तर्गत समूह एको गएराति भएको खेलमा इटलीले नेदरल्याण्ड्सलाई १-० ले पराजित गरेको हो ।
इटलीलाई ३ अंक दिलाउन निकोलो बरेलाले पहिलो हाफको इन्जुरी टाइममा सिरो इम्मोबाइलको पासमा निर्णायक गोल गरेका हुन् ।
पहिलो खेलमा बोस्नियासँग बराबरी खेलेको इटलीले पहिलो जितपछि २ खेलबाट ४ अंक जोडेको छ र अंक तालिकामा शीर्ष स्थानमा छ । यस्तै पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको नेदरल्याण्ड्सको ३ अंक छ ।
यता पहिलो खेल हारेको पोल्याण्डले बोस्नियालाई पराजित गर्दै पहिलो जित हात पारेको छ । पोल्याण्डले बोस्नियालाई २-१ ले पराजित गरेको हो । पोल्याण्डको लागि कमिल गिलिक र कमिल ग्रोसिस्कीले गोल गरे । बोस्नियाका लागि हरिस हाराडिनोभिले पेनाल्टीमा गोल गर्दै पहिले अग्रता दिलाएका थिए तर पोल्याण्डले पुनरागमन गर्दै जित हात पारेको हो ।
यस्तै एर्लिन हालान्डको दुई गोल मद्दतमा नर्वेले लिग बी को समूह १ को खेलमा उत्तरी आयरल्याण्डलाई ५-१ ले पराजित गरेको छ । पहिलो खेलमा पराजित भएको नर्वेले पहिलो जित हात पारेको हो । यसै समूहको अर्को खेलमा रोमानियाले अष्ट्रियालाई ३-२ ले पराजित गरेको छ ।
यसैगरी लिग बी को समूह ई अन्तर्गत खेलमा स्कटल्याण्डले चेक रिपब्लिकलाई २-१ ले पराजित गरेको छ भने इजरायल र स्लोभाकियाले १-१ को बराबरी खेलेको छ ।