भदौ २८, विराटनगर –
कोठाभाडामा बस्नेहरुले घरभाडा समयमै नतिर्दा कतिपय ठाउँमा घरबेटीले दुर्ववहार गर्ने तथा घरबाटै निकालिएको धेरै समाचारहरु हामिले पढ्दै र सुन्दै आएका छौँ। तर विराटनगरका एकजना घरबेटी यस्तो उदाहरणीय बनेका छन जसले विगत २ वर्षदेखि एकजना भाडावालको एक रुपैयाँ भाडा लिएका छैनन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ खारजीका प्रभात घिमिरे र लक्ष्मी घिमिरे परिवारले आफ्नो घरको भाडामा बस्ने एकजना महिलालाई विगत २ वर्षदेखि भाडा लिएका छैनन् । घिमिरेको घरमा भाडाम बस्दै आएकी चमेली साहलाई पछिल्लो समय खान नै मुस्किल भएको खबर पत्रकार प्रेम यादवले थाहा पाएपछि सामाजिक अभियन्ता ओसिम आलम अवस्था बुझ्न र केही खाद्यान्न लिएर उनी बस्ने ठाउँसम्म पुगेका थिए । चमेलीलाई आलमले खाद्यान्न सामाग्री सहयोग गरेपनी २ वर्षदेखि घरभाडा नलिने घरबेटीको अगाडि आफ्नो सहयोग केही नभएको आलमले बताए ।
२ वर्ष अगाडिसम्म ५ सय भाडा लिँने गरेको भएपनी त्यसपछि चमेलि बिरामी भएको र काम गर्न नै नसक्ने अवस्था भएपछि आफुले घरभाडा नलिएको लक्ष्मी घिमिरेले बताईन् । उनले भनिन, ‘सबैभन्दा ठूलो मानवता हो। भाडावालालाई घरबेटीले दुर्ववहार गरेको धेरै खबर सुनिन्छन तर आफुले २ वर्षदेखि भाडा नलिएर सकेको सहयोग गरेको हो, बत्ती पानीको बिल पनि आफैले तिर्दै आएको छौँ ।’ यता आलमले पनि भगवान घरबेटी भएको भन्दै घिमिरे परिवारले गरेको यो सहयोगको अगाडि आफुले गरेको सहयोग केहि नभएको बताए । आलमले भने, ‘ हामोले जति सक्छौँ गरिब दुखीका लागि त्यति सहयोग गर्नुपर्छ। कोहि पनि बेसहारा र भोकभोकै बस्नु नपरोस्। २ वर्षदेखि भाडा नलोएर यसरी आश्रय दिएर राख्नुहुने घरबेटी भगवान हुनुहुन्छ।’
विगत १०३ दिनदेखि सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाउँदै आएका सामाजिक अभियान्ता ओसिम आलमले एक्लै बस्दै आएकि र स्वास्थमा समेत समस्या भएकी चमेली साह , सानैदेखि एउटा हात गुमाएका तुलसी साह र होटेलमा मजदुरी गर्ने र लक डाउनले खान बस्न समस्या भएको मुना तामाङलाई खाद्य सामाग्री सहयोग गरेका छन् । उनले चामल , नुन , तेल, चाउचाउ , चिउरा, आलु, तरकारी लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।