असोज ४–
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उद्घाटन खेलमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ ।
अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९।२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र जित दर्ता गर्यो ।
चेन्नाइको जितमा अम्बाती रायडुले ४८ बलमा ७१ र फाफ डु प्लेसिसले ४४ बलमा नटआउट ५८ रन बनाए ।
मुम्बई इन्डियन्सका सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाएका थिए । क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८ र सूर्यकुमार यादवले १७ रन बनाएका थिए । कप्तान रोहित शर्मा २ चौकाको मद्दतमा १२ रन बनाएर आउट भए ।
चेन्नाईका लुंगी निग्डीले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र दीपक चहारले २–२ विकेट लिए ।
आज बेलुका हुने दोश्रो खेलमा देल्ली क्यापिटल्स र किंग्स इलाभेन पंजाब आमनेसामने हुँदैछन् । देल्लीमा नेपाली लेग स्पीनर सन्दिप लामिछाने पनि रहेका छन् ।