असोज ७ –
नेपाल क्रिकेट संघ क्यानले पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले खेलाडीको वर्गीकरण गर्दै एक वर्षका लागि सम्झौता गरेको छ । पुरुषतर्फ १८ खेलाडी र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । महिला खृलाडीलाई पहिलोपटक वर्गीकरण गरिएकोे हो ।
पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन ।
यस्तै, महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लाई जानकारी दिए। उनका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन्। यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन्। ।
पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३० हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।
यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक १० हजार रुपैयाँ पारिश्रमिक पाउने छन्। । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन्। ।
नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ। सन् २०१७ र २०१८ मा आइसीसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको भएपनि अहिले क्यानले उहाँलाई ग्रेड ‘ए’ मा राख्दै दुई वर्षको तलब दिने निर्णय गरेको हो।
क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय समेत गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो।
त्यस्तै कोरोना कहरका बीच बन्द प्रशिक्षणका लागि क्यानले सरकारसँग अनुमति माग्ने निर्णय गरेको छ। आइसीसीको प्रावधानअनुसार मङ्सिर महिनाभित्रै राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न सरकारसँग अनुमति माग्ने निर्णयसमेत गरिएको छ। मङ्सिरभित्र पुरुष र महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि समन्वय गर्ने निर्णय क्यानले गरेको हो।
यस्तै कर्णाली प्रदेशमा क्रिकेट विकासका लागि केन्द्रीय सदस्य पदम खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ। साथै, क्यानले सम्झौता गरेका खेलाडीको जीवन बीमाका लागि तीन सदस्यीय समिति पनि गठन गरेको छ। कोषाध्यक्ष रोशन सिंह, सदस्यहरु दुर्गा पाठक र छुम्बी लामा सम्मिलित तीन सदस्यीय समितिले पुरुष र महिला खेलाडी, ग्राउन्ड स्टाफ, अफिस स्टाफहरुको एक वर्षको जीवन बिमा गर्नेछ। यस्तै विश्वकप क्रिकेटमा उत्कृष्ट ठहरिएका तत्कालीन कप्तान पारस खड्कालाई आइसीसीले उपलब्ध गराउने भनेको टोयोटा कारका लागि क्यानले पहल गर्ने निर्णयसमेत गरेको छ।