असोज ७, काठमाडौं –
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्रिविले कोरोनाका कारणले रोकिएका सबै परीक्षा छठलगत्तै गर्ने गरी दशैँ अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएको छ ।
त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने छ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने छन् ।
यसैगरी त्रिविले सेमेष्टरको भर्चुअल परीक्षा गर्नेबारे छलफल गरे पनि अब नगर्ने भएको छ । केही डिन कार्यालयले सेमेष्टर प्रणाली परीक्षा भर्चुअल गर्ने भने पनि अब विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा गर्ने भएको छ । कोरोनाका कारणले केही विश्वविद्यालयले खुला किताब (ओपन बुक) गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् ।
त्रिविले माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन/चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी गरिरहेको छ । कोरोनाका कारणले त्रिविका चैतदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित भएका छन् । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ ।