असोज १० –
इन्डियन प्रीमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले लगातार दुई खेलमा दुई जित निकालेको छ । शुक्रवार राती दुबैमा भएको खेलमा दिल्लीले चेनाई सुपर किंग्सलाई ४४ रनले पराजित गर्यो । धोनिको कप्तानीमा रहेको चेन्नाईले भने ३ खेलमा २ खेल हार बेहोरेको छ ।
चेन्नाईले टस जितेर पहिला दिल्लीला ब्याटिङको निम्तो दिएपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै दिल्लीले १७५ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शले ४३ बलमा ६४ रन जोडे भने अर्का ओपनर शिखर धवनले २७ बलमा ३५ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ९४ रनको ओपनिङ साझेदारी गरेका थिए ।
त्यस्तै रिशभ पन्तले २५ बलमा ३७ रन तथा कप्तान श्रेयस ऐयरले २२ बलमा २६ रन जोडेका थिए । चेन्नाईका लागि पीयूष चाउलाले २ विकेट तथा सम करनले १ विकेट लिए ।
१७६ रनको लक्ष पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि फाप डुप्लेसीले ३५ बलमा ४३ रन तथा केदार ज्यादवले २७ रन जोडे भने कप्तान धोनिले १५ रन मात्र बनाएपछि चेन्नाई पराजित हुन पुग्यो । दिल्लीका लागि कगिसो रबाडाले ३ विकेट लिएभने एनरिच नोर्त्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए ।
दिल्ली क्यापिटल्स तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । दिल्लीमा नेपालका लेग स्पिनर सन्दिप लामिछाने पनि आवद्ध छन तर सुरुवाती २ खेलमा उनले मौका पाएका छैनन् ।