असोज १२, विराटनगर –
समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरमा महानगरपालिकाले कक्षा ११ को परीक्षा लिने तयारी गरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । निजी विद्यालय सञ्चालकसँगको मिलेमतोमा महानगरपालिकाले परीक्षा लिने तयारी गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् ।
अन्य कतैपनी परिक्षाको तयारी नभएपनी कोरोनाको उच्च जोखिम रहेको विराटनगरमा भने महानगरपालिकाले कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । यसको विरोधमा विद्यार्थीले सोमबार महानगरपालिका अगाडि धर्ना दिएका छन् ।
उनीहरुले महामारीको बेला जबरजस्ती शुल्क असुल्न र कोरोना संक्रमण फैलाउने जोखिम बढाउनेगरी तयारी गरिएको परीक्षा खारेज गर्न पनि माग गरेका छन् । शिक्षा मन्त्रालयले माघ महिनासम्ममा परीक्षा लिन निर्देशन दिएको भएपनि तत्काल विद्यालय भने नखोल्न निर्देशन दिएको छ ।
महामारीको उच्च जोखिमको बेला जबर्जस्ति शुल्क असुल्नका लागि परिक्षाको बहाना बनाएको विद्यार्थीहरुको आरोप छ । महानगर प्रमुख नै निजि विद्यालय सञ्चालक रहेकोले अरु कुनै स्थानीय तहले परिक्षाको तयारी नगरे पनि विराटनगरमा भने चाडपर्वको मुखमा परिक्षा गर्न लागिएको विद्यार्थीको भनाई छ ।
निर्देशन उल्लंघन गर्दै कोरोना महामारीका कारण समस्यामा रहेका विद्यार्थीबाट जबरजस्ती शुल्क असुल्ने प्रयोजनको लागि मात्र परीक्षा लिन लागिएको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीले महामारीपछि परीक्षा लिन आग्रह गरेका छन् । महामारीकै बेला परीक्षा सञ्चालन गर्ने भए अनलाइन पद्दतिबाट सञ्चालन गर्नुपर्ने उनिहरुको भनाइ छ ।