असोज १३, विराटनगर –
समुदायस्तरमा कोरोना संक्रमण फैलिएको अवस्थामा तत्काल परिक्षा नगराउन भन्दै विद्यार्थीहरुले मोरङका सहायक जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा लिने तयारी गरेपछि विद्यार्थीहरुले सहायक जिल्ला अधिकारी मुकेश कुमार केसरीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
विराटनगरको मेरिल्याण्ड कलेजको कक्षा ११ मा अध्ययनरत विद्यार्थी फरान शेखको नेतृत्वमा रबेश कोइराला र सक्षम खड्काले मंगलबार जिल्ला अधिकारी केसरीलाई तत्काल परिक्षा नगराउन ध्यानाकर्षण गराएका हुन् । निजी विद्यालय सञ्चालकसँगको मिलेमतोमा विराटनगर महानगरपालिकाले परीक्षा लिने तयारी गरेपछि विद्यार्थीहरु ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनपत्र बुझाउने क्रममा सहायक सिडियो केसरीले तत्काल कुनैपनी परिक्षा गराउन सम्भव नरहेको जानकारी गराए। उनले तत्काल कुनैपनी परिक्षा नहुने समेत विश्वास दिलाए ।
अन्य कतैपनी परिक्षाको तयारी नभएपनी कोरोनाको उच्च जोखिम रहेको विराटनगरमा भने महानगरपालिकाले कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । यसको विरोधमा विद्यार्थीले सोमबार महानगरपालिका अगाडि धर्ना समेत दिएका थिए ।
उनीहरुले महामारीको बेला जबरजस्ती शुल्क असुल्न र कोरोना संक्रमण फैलाउने जोखिम बढाउनेगरी तयारी गरिएको परीक्षा खारेज गर्न माग गरेका थिए । शिक्षा मन्त्रालयले माघ महिनासम्ममा परीक्षा लिन निर्देशन दिएको भएपनि तत्काल विद्यालय भने नखोल्न निर्देशन दिएको छ ।
महामारीको उच्च जोखिमको बेला जबर्जस्ति शुल्क असुल्नका लागि परिक्षाको बहाना बनाएको विद्यार्थी फरान शेखको आरोप छ । महानगर प्रमुख नै निजि विद्यालय सञ्चालक रहेकोले अरु कुनै स्थानीय तहले परिक्षाको तयारी नगरे पनि विराटनगरमा भने चाडपर्वको मुखमा परिक्षा गर्न लागिएको विद्यार्थीको भनाई छ ।
निर्देशन उल्लंघन गर्दै कोरोना महामारीका कारण समस्यामा रहेका विद्यार्थीबाट जबरजस्ती शुल्क असुल्ने प्रयोजनको लागि मात्र परीक्षा लिन लागिएको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीले महामारीपछि परीक्षा लिन आग्रह गरेका छन् ।