असोज १४, विराटनगर –
विराटनगर महानगरपालीकाले कक्षा ११ को परिक्षा स्थगित गरिसके पनि निजि शैक्षिक संस्थाहरु परिक्षा हुने भन्दै विद्यार्थीहरुलाई अन्योलमा पारेका छन् ।
यसअघि विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । यसको व्यापक विरोध भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा परिक्षा स्थगित गरेपनी निजि शैक्षिक संस्थाले भने विद्यार्थीहरुलाई परिक्षा २५ गतेबाटै हुने भन्दै अन्योलमा पारेको बुझिएको छ ।
अनलाइन कक्षा तथा म्यासेज र फोन गरेर विद्यार्थीहरुलाई २५ गतेबाटै परिक्षा हुने भन्दै शिक्षक तथा विद्यालय सञ्चालकहरुले अन्योलता सृजना गरेका छन् । कतिपय शिक्षक र सञ्चालकले त फोन र म्यासेज गरेरै विद्यार्थीहरुलाई तत्काल विद्यालय आएर शुल्क तिरी एडमिट कार्ड लैजान भन्दै धम्क्याउने गरेको विद्यार्थी नेता संरक्षण देवकोटाले बताए । उनले भने, ‘ विराटनगर महानगरपालिकाले परिक्षा स्थगित गरिसकेको भएपनी निजि विद्यालय सञ्चालकहरुले विद्यार्थीलाई धम्क्याउँदै शुल्क तिर्न भनिरहेका छन्। धेरै विद्यार्थी विराटनगर बाहिरका रहेको र उनिहरुको तत्काल शुल्क तिर्न सक्ने अवस्था पनि छैन र अहिलेको यति छोटो समयमा उनिहरु उपस्थित भएर परिक्षा दिने मानसिक तयारीमा पनि छैनन्। यस्तो अवस्थामा विद्यार्थीलाई शुल्क तिर भन्दै धम्क्याउँदा मानसिक असर पर्नसक्छ ।’
मेरिल्याण्ड कक्षा ११ मा पढ्ने विद्यार्थी फरान शेखले विराटनगर बाहिरका विद्यार्थी कोरोनाका कारण ६/७ महिनादेखि घर गएकाले तत्काल आएर परिक्षा दिन सम्भव नरहेको बताए । उनले भने, कोरोनाको उच्च जोखिमका बेला बाहिरबाट कोठाभाडामा बस्ने विद्यार्थीलाई घरबेटीले कोठामा बस्न दिँदैनन्, अर्कोतिर कोठाको भाडा र विद्यालयको शुल्क तिर्न सक्ने अवस्थामा उनिहरु तत्काल छैन्। यस्तो अवस्थामा परिक्षा हुन्छ भन्दै विद्यार्थीलाई डर देखाउनु गलत हो ।’
कतिपय शिक्षक र सञ्चालकले त विराटनगर भित्रका विद्यार्थीहरुको परिक्षा २५ गतेबाटै हुने र बाहिरका विद्यार्थीको परिक्षा पछि हुने समेत भन्ने गरेको विद्यार्थीहरु बताउँछ। कतिपय सञ्चालकले भने २५ गतेबाटै परिक्षा हुने र परिक्षा दिने विद्यार्थीले १२ पढ्न पाउने र परिक्षा नदिने विद्यार्थीले ११ मै बस्नुपर्ने भन्दै धम्क्याउने गरेको एक विद्यार्थीले बताए । यसरी निजि विद्यालय सञ्चालकहरुले शुल्क असुल गर्नका लागी विद्यार्थीहरुलाई मानसिक र मनोवैज्ञानिक दबाव दिने गरेको बुझिएको छ ।
विराटनगरमा प्रदेश १ र प्रदेश २ का करिब ८ हजार विद्यार्थी कक्षा ११ मा पढ्छन् । विराटनगर बाहिर घर भएका विद्यार्थीहरुले कोरोना महामारीको कारण घरमै सुरक्षित बसिरहेको बेला परीक्षाको लागि विराटनगर आउन संभव नरहेको विद्यार्थी नेता संरक्षण देवकोटाले बताए । महानगर र प्रशासनको निर्देशन उल्लंघन गर्दै कोरोना महामारीका कारण समस्यामा रहेका विद्यार्थीबाट जबरजस्ती शुल्क असुल्ने प्रयोजनको लागि मात्र परीक्षा लिन लागिएको उनको आरोप छ ।