मंसिर १८, विराटनगर –
जनताको जिम्मेवारी कुनै व्यक्ति या संस्थालाई राज्यसत्ता सुम्पिनु मात्र हो ? कुनै शासन पद्धति लाई प्रतिस्थापन गर्दैमा जनता सर्वशक्तिमान हुन्छन् ?
याद रहोस् , हामी जनता अहिले सम्म सर्वशक्तिमान छैनौं र हामी कुनै परिस्थितिमा क्षणिक उत्तेजनाका कारण बहकिन्छौ । त्यो बहकाई र उक्साहटले कहिले हामी राजा मास्न त कहिले गणतन्त्र मास्न उर्लिन्छौं । दशक – दशकको अंतरालमा हामीलाई पूर्ण रूपमा शासन पद्दति नै बेठीक लाग्छ र हामी सडकमा आउँछौ ।
के सडकमा आएर भीड जम्मा गर्दै फलाना जिन्दावाद, फलाना मुर्दावाद भन्नु हाम्रो सर्वशक्तिमानि हो ? हामी भौतिक रूपमा मात्र सर्वशक्तिमान छौं र बिचारमा भने कुनै न कुनै शक्तीको गुलाम बन्दै आएका छौं ।
आफ्नो देशलाई कस्तो शासन पद्धति आवश्यक छ हरेक जनतालाई थाहा हुनुपर्दछ । ईतिहास नियाल्नुस ,संयम हुनुहोस,सोच्नुहोस् ,एउटा निर्णय गर्नुस् जसले शताब्दीयौं काम गरोस र हामीले जस्तो हाम्रा सन्ततिले शासन पद्धति ,सत्ता परिवर्तनले निम्त्याएको अराजकताको सिकार बन्नु नपरोस् ।
केही कुराको कमजोरी औल्याइन्छ भने सुझाव र समाधानको बाटो पनि दिनु पर्दछ भन्ने धेयका साथ मलाई लागेका समाधान हरु म उल्लेख गर्दै छु :-
कार्यकारी राष्ट्रपति या प्रधानमन्त्री हुने या दुवैको एक मात्र विकल्प राजा ?
१. अमेरिकी र बेलायती शासन व्यवस्था अनुसार त्यहाँ क्रमश : राष्ट्रपति र प्रधानमन्त्री कार्यकारी हुन्छ्न र हामीले हाल अवलम्बन गरेको व्यवस्था बेलायतले अवलम्बन गरेको जस्तै व्यवस्था हो । राष्ट्रपति कार्यकारी हुँदा नेपाल मा के हुन्छ र प्रधानमन्त्री हुँदा के भै रहेको छ त्यस बारे खासै खोज,चासो नभएकाले कार्यकारी राष्ट्रपतिको माग विरलै सुनिन्छ । नेपालमा गणतन्त्रको एकमात्र विकल्प राजतन्त्र हो भन्ने पनि कतिपयको बुझाइ छ ।
२. पहिलो बुँदाको पूर्ण रुपेण आशय : अहिले देशका विभिन्न स्थानमा राजसंस्था पुनर्स्थापनाका लागि जनलहर निस्किन थालेका छन्। राजा चाइन्छ नै भने किन चाइन्छ र कस्तो राजा चाइन्छ , थपाना या कार्यकारी राजा यो खुलस्त पार्नु जरुरी छ राजसंस्था समर्थकले । थपना राजा हुँदा कार्यकारी प्रधानमन्त्री हुन्छ र अर्को थपान (राष्ट्रपति )को मात्र प्रतिस्थापन हुन्छ,काम अहिलेकै जस्तै र परिवर्तन , बिकास उही सुन्य प्रायः किन भने व्यक्ति उही ,कोही मुखर मात्र त कोही गजधम्मे ,काम कसले गर्ने ?
राजा कार्यकारी भएमा के देशले विकासको फड्को मार्ला ?
३.पहिलो र दोश्रो बुदाको बाकी र अन्तिम आशय : अर्को विकल्प भनेको कार्यकारी राजा ,जुन कतिलाई सुन्दै अप्रिय लाग्न सक्छ र राजाको एकल शासन प्रवृत्ति,हेपाईको बेवास्ता गर्दै राजाका योजना मैं मक्ख हुनेलाई अतिप्रिय । विश्वमा स्वतन्त्रता र प्रजातन्त्रको कुरा गर्ने हो भने १७८९ को दसक तिर फ्रान्सेली राज्यक्रन्ती पश्चात अभ्युदय हुन थालेको पाइन्छ तर हामी अहिलेको युगमा राजतन्त्रको माग गर्दैछौ भने हामी कुन युगको परिकल्पना गर्दै छौ ? सचेत युवाहरु जो राजाको समर्थन गर्नु हुन्छ,यहाँहरुलाई अहिलेका नेता प्रति विश्वास नभएर राजा आए देशले प्रगति गर्ने थियो भन्ने लागेको हुन सक्छ । तर तपाईंहरू पनि यति जानकार र क्षमतावान अनि सदाचारी हुनुन्छ की ,किन तपाईंहरू आफू नै राजनीतिमा आउने कुरा गर्नु हुन्न ? राजामा पूर्ण शासन सक्ती सुम्पिने हो भने भ्रष्टाचार घट्ला (छरल्याङ नदेखिनु ),विदेशी शक्तिकेन्द्रको चाकरी र चाप्लुसी,हस्तक्षेप घट्ला ( नदेखिएला), विश्व मा राजा ( एउटा व्यक्ती) को उच्च सम्मान होला ,देश भित्र देवत्वकरण होला (हुन्छ ) ,तर विकास ? के राजाले देशको खनिज निकाल्ने हो ? के राजाले हवाईजहाज कम्पनी निर्माण गर्ने हो, के राजाले विज्ञान र प्रविधि संग सँगै टेक्नोलोजीको विकास गर्ने हो ? यसका लागि हरेक क्षेत्रमा विज्ञता हासिल गरेका मन्त्री, इन्चार्जहरु हुन आवश्यक छ । अहिलेको युगमा नेपालमा मेरिटोक्रेसि खड्किएको भान हुन्छ । हामी संग भएको राजा ज्ञानेन्द्र ( एक मात्र )भनेका आधुनिक व्यक्ति हैनन्, अप्रचलित व्यक्ति हुन् र उनमा विकासका लागि विज्ञान र प्रविधिका योजनाको स्फुरण होला भन्ने मा हामी विश्वस्त छैनौं ।
र राजा ल्याउनु भनेको , “ल हजुर आफ्नो गुमेको गद्दी ग्रहण गरीबक्सियोस ,हजुर नै हाम्रो देवता ,हजुर बसिस्योस् मात्र , हामी हजुरलाई लाई नै हेरेर मक्ख पर्ने छौं “भन्नु मात्र हो । यो मानेमा राजालाई असक्षम भन्दै गर्दा हाम्रा नेताहरु पनि जोस, जागर,प्रताप , सुद्दी ले भरिपुर्ण छैनन् , राजालाई त देश को माया हुन्छ भनिन्छ तर नेताहरुले भने देशको सामूहिक बलात्कार गरेर हत्या मात्र गर्न बाँकी छ । ईतिहासमा राजाले पनि मौका पाएका हुन् देश बिकास गर्ने तर कति बिकास भयो र विगतमा चाई ? यसरी बुझ्दा कुनै पनि शासन पद्धति सफल या असफल भन्ने हैन , कुनै पनि शासन पद्धति आफैमा गलत हुँदैन ,शासन पद्धतिमा रहेर कुशल शासन गर्ने व्यक्तिले कुनै पनि शासन पद्धति लाई सफल बनाउँछ त्यसैले गणतन्त्रका नेता राजा बन्न खोजे भन्दैमा राजतन्त्र कै राजा ल्याउनु भन्दा उचित गणतन्त्र कै राजाहरूलाई हटाउने तिर लाग्न सकिन्छ ।
आधुनिक युगमा उही परम्परागत राजनीति जहाँ वरिष्ठ र आन्दोलन को नाइकेले मौका पाउँछ ,जहाँ विचार,भिजन र विकासका लागि राजनीति हुँदैन ?
४. जेल बसेर,सडकमा टायर बालेर ,ढुङ्गा हानेर ,नरसंहार गरेर आफ्नो त्यस कर्मलाई योगदान र परिवर्तनको नाम दिँदै सत्ताको कुर्सी प्रति र्याल काड्नेहरुले कहिले पनि देश विकास गर्दैनन्। हालको राजनीतिक पुस्तालाई जरै सम्म निष्क्रिय नपार्ने हो भने परिवर्तन ,विकास हाम्रा सपना हुने छन् र यिनै राजनीतिक पुस्ताले आफु भन्दा कान्छा राजनीतिज्ञलाई पनि आफू संग सँगै डोर्याएर आफू जस्तै भ्रष्ट र निकम्मा बनाउँछन् अनि उही मनपरीतन्त्र, भ्रष्टाचार र फोहरी राजनीतिको निरन्तरता ।
जनताको इच्छा वास्ता नगर्ने राजनीतिक दल र तिनका नेता :
जनताले प्रत्यक्ष रूपमा फैसला गर्न नपाएको दुई मुख्य निर्णय जुन हाम्रा नेताहरुले गरे : – धर्मनिरपेक्षता र संघीयता । यी दुवै निर्विरोध कार्यान्वयन त भए तर हरेक जनताले सन्तुष्ट रूपमा स्वीकार गरेका छैनन् । सुन्दर र शान्त नेपालमा धर्मनिरपेक्षता बारे कोही जनतालेले बोलेकै थिएनन् ,बहुसंख्यक ,अल्पसंख्यक सबै मिलेर बसेका थिए ,धर्मको नाममा कोई व्यक्ति अर्को धर्म मान्ने समूह या व्यक्ती बाट प्रताडित भएको थिएन तर त्यस्तो सहज स्थितिमा पनि हाम्रा नेताहरुलाई भने निकै खस्खस् भयो र विदेशी कै इशारामा देशको पहिचान लुटे ,एउटा राष्ट्र जहाँ सबै धर्मको सम्मान हुन्थ्यो र त्यो हिन्दू राष्ट्र नेपाल थ्यो जुन पहिचान लुटियो र अहिले खुलुम्म खुल्ला धर्मको व्यापार हुन्छ । विगतको धार्मिक सन्तुलनमा विकार आउनुको मुख्य कारण पनि जनताको ईच्छा विपरीतको धर्मनिरपेक्षता हो । अन्य देशका एउटा राज्य भन्दा स्यानो हाम्रो देशलाई सात टुक्रा पारी राख्नु पर्ने पनि खासै जरुरी थिएन, हाल नेपालमा संघीयताले रोगजार मात्र दी रहेको छ प्रदेश सरकार अन्तर्गतका नेता,कार्यकर्ता,कर्मचारीलाई जब प्रगति र काम भने आशा गरे विपरीत ।
गरीब देशमा खर्चिलो व्यवस्था : सुन्दा पनि हास्यास्पद लाग्छ जुन चिन्ताजनक कुरा हो । हालको राजनीतिक पुस्तालाई प्रतिस्थापन गरेर मेरिटोक्रेसि सहितको नयाँ राजनीतिक पुस्ता आउन जरुरी छ र एउटा जनमत संग्रह गराउन जरुरी छ ,धर्मनिरपेक्ष र संघीयताको विषयमा किनकि आफ्नो देशको आंतरिक व्यवस्था कस्तो राख्ने हो त्यो अधिकार जनतामा हुन्छ र कुनै विदेशी शक्तीको इशारा बुझी राख्नु पर्दैन । प्रजातन्त्रमा अत्याधिक जनताले रुचाएको व्यवस्था हामी सबैले स्वीकार गर्नुपर्छ।
भोट हाल्दैमा र सडक तताउँदैमा जनताको जिम्मेवारी पूरा हुँदैन,सबैले आफ्नो केही समय देशका लागि खर्च गर्ने बारे सोच्नु पर्छ :
५. देश नै सबै थोक हैन ,मानवता र सभ्यताका अनुयायी र पूरा ब्रह्माण्डलाई नै आफ्नो घर मान्ने उदारवादी विचारधारा राख्ने बाहेकका अन्य देशभक्त हरुको कर्तव्य भनेको नेपाल देशलाई जननी ठानेर,कर्मनिस्ठ, सदाचारी, स्वाभिमानी बन्दै देशको सेवा गर्नु हो । देशको सेवामा लाग्न कुनै पनि तन्त्रले तगारो हाल्दैन र हालको अवस्थामा न त राजतन्त्र प्रभावकारी हुन्छ न त यस्तो रोगी गणतन्त्र । नयाँ राजनीतिक सिद्दान्त ,विचार , भिजन बोकेको मेरिटोक्रेसिले सुसज्जित गणतन्त्रले नै देशलाई सही ट्रयाकमा लाने हो ,जहाँ देश निर्माणमा अहिलेका परम्परागत सोच भएका ,लालची ,चाकरी गर्ने, हत्यारा,देसद्रोहि ,भ्रष्ट नेताहरुको सहभागिता हुँदैन र शिक्षित, सम्बन्धित क्षेत्रका विज्ञ,सदाचारी र देसभक्त हरु को सहभागिता हुन्छ ।
लेखक: केशन ढकाल