माघ ३, विराटनगर –
नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभरका पालिकाहरूमा प्रदर्शन गर्दैछ। सभापति शेरबहादुर देउवाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गरेका छन्।
यसअघि काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध सभा आयोजना गरिसकेको छ।
देशभर प्रदर्शन गर्न लागे पनि कांग्रेस अझै संसद् पुन: स्थापना या चुनाव भन्नेबारे दोधारमा छ। पार्टी सभापति शेरबहादुर देउवा चुनावमा जान इच्छुक देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुन: स्थापनामा लाग्नुपर्ने अडान राखिरहेका छन्।