‘हाम्रो अभियान’को टिमले विराटनगरमा सञ्चालन गरेको निशुल्क खाना खुवाउने अभियान स्थगित भएको छ। ५० औँ दिनमा आएर अभियान तत्कालका लागि स्थगित भएको हो ।
मोरङ प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै बजार खुल्न थालेपछि खाना खुवाउने अभियान तत्कालका लागि स्थगित गरिएको अभियानका संयोजक ओसिम आलमले जानकारी दिए । निषेधाज्ञा पनि खुकुलो भएको र पछिल्लो समय अविरल वर्षाका कारण विराटनगर लगायत मोरङका विभिन्न क्षेत्रमा बाढी र डुबान हुनथालेकाले अब बाढी पिडितको उद्दार र राहतमा खटिने अभियानका संयोजक आलमले जानकारी दिए ।
‘प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भिडभाड हुन थाल्यो। मजदुरहरुले सामान्य कामहरु पाउन थालेका कारण उनिहरुकै सल्लाहमा तत्कालका लागि खना खुवाउने अभियान स्थगित गरेका छौँ।’ उनले भने, ‘खाना खुवाउने अभियान स्थगित भएपनी हाम्रो अभियान जारी रहनेछ। हाम्रो टिम अब बाढि पिडितको उद्दार र राहतमा खटिनेछ।’
पछिल्लो समय भएको निरन्तर वर्षाका कारण विराटनगरका धेरै ठाउँ डुबानम परेका छन्। सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि विराटनगर महानगरपालिका–१ का करिब १५० घर परिवार विस्थापित भएका छन्। सोही विस्थापित परिवारलाई शनिबार हाम्रो अभियानको टिमले तत्कालका लागी पुग्ने खाद्यान्न उपलब्ध गराएका थियो। अभियानको टिमले चाउचाउ , चिउरा र भुजा लगायतका खाद्यान्न वितरण गरेको थियो ।
यता जिल्ला प्रशासन मोरङले लगाएको निषेधाज्ञा पनि खुकुलो भएको छ। बजारहरु दिउँसो ४ बजेसम्म खोल्म दिने निर्णयसँगै बजारमा बाक्लो चहलपहल हुन थालेको छ।
हाम्रो अभियानको टिम विगत एक वर्षदेखी विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको छ। गतसालको लगडाउनमा सडक पेटिमा बस्नेहरुलाई १२० दिनसम्म निशुल्क खाना खुवाएको अभियानको टिमले यसपटकको निषेधाज्ञामा ५० औँ दिनसम्म खाना खुवाएको छ। अभियानको टिमले बिहान र बेलुका गरेर दैनिक ३०० भन्दा बढिलाई निशुल्क खाना खुबाउँदै आएको थियो ।