विराटनगर – संविधानमाथि आक्रमण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार विराटनगरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको संविधान पढ्न भन्दै सांकेतिक प्रदर्शन गरेका हुन्।
संविधानसहित प्रस्तुत भएका विद्यार्थीहरुले करिब आधा घण्टा प्लेकार्ड प्रदर्शन गर्दै कोणसभा भएको थियो। विराटनगरको ट्राफिक चौकमा भएको विरोध प्रदर्शनमा चार संगठनका नेताहरुले बोलेका थिए।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य ताजिम अन्सारी, अनेरास्ववियुका स्थायी कमिटी सदस्य किशन भगत र समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य महेश यादवले बोलेका थिए। असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरुले सरकार विरोधी प्रदर्शन गर्दै आइरहेका छन् ।