विराटनगर – विश्व खेलकुदको महामेलाको ओलम्पिक आजबाट सुरु हुँदैछ। कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको ओलम्पिक जापानको राजधानी टोकियो सहरमा जुलाई २३ (आज) बाट सुरु हुन लागेको हो।
३२ औँ संस्करणको यो ग्रिष्मकालीन ओलम्पिकमा ३३ खेलका ३३९ विधा समेटिएको छ । टोकियोस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार साँझ पौन ५ बाट सुरु हुनेछ ।
उद्घाटन समारोहमा मार्च पाससहित विभिन्न कार्यक्रम हुनेछन् । मार्च पासमा नेपालको झन्डा पौडीबाज गौरिका सिंह र एलेक्स शाहले बोक्ने छन् । टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार २३८ खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् ।
नेपालको तर्फबाट गौरिका र एलेक्ससहित जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउने छन् ।
गौरिकाले महिला र एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । सोनियाले महिला ४८ केजी मुनि तौल समूहमा आफ्नो चुनौती पेस गर्नेछिन् ।
कल्पनाले महिला १० मिटर एयर राइफल र सरस्वतीले १०० मिटर महिला दौडमा सहभागिता जनाउने छिन् ।