काठमाडौ – नेपाली क्रीकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्, मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’
सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका खड्काले लेखेका छ्न्,‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु, मैदानभित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्।’
उनले अन्तर्राष्ट्रिय क्रिकेटरबाट सन्यास लिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै ‘बामे सर्दै’ गरेको बताएका छन् । ‘मेरो जीवनमा मैले देखेको सपना भनको नै नेपाली क्रिकेटको उन्नति हो’, उनले भनेका छन्, ‘तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवशय पनि एउटा नयाँ उचाइमा पुर्याउनेछौँ।’
पारसकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।