काठमाडौं – अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा सुपर स्टार लिओनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा (पीएसजी)मा अनुबन्धित भएका छन्।
मेसीले मंगलबार फ्रेन्च लिग वान क्लब पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका छन् । स्पानिस क्लब बार्सिलोना छाडेको दुई दिनपछि नै फ्रेन्च क्लबले ३४ वर्षीय मेस्सीलाई पेरिसमा भित्र्याउँदै दुई वर्षका लागि अनुबन्ध गरेको हो ।
यस्तै मेस्सीका लागि तेस्रो वर्ष पनि पेरिसमै बस्ने विकल्प खुल्ला गरिएको छ । पीएसजीले मेस्सीलाई फ्रि एजेन्टका रुपमा अनुबन्ध गरेको हो ।
यसैबीच मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने भएका छन् । उनले लामो समय १० नम्बरको जर्सी लगाउँदै आएका थिए ।
पीएसजी युरोपियन च्याम्पियन्स लिग जित्ने महत्वकांक्षाका साथ पछिल्लो वर्ष स्टार खेलाडीहरु अनुबन्ध गरिरहेको छ । ला लिगाको आर्थिक नियम बाधक बन्दा मेस्सीले दुई दिनअघि मात्र आफ्नो प्रिय क्लब बार्सिलोना छाड्नुपरेको थियो ।
६ पटकका बालोन डे ओर अवार्ड विजेतालाई अनुबन्ध गरेपछि पीएसजीमा अब मेस्सीसंगै नेमार र किलिएन एमबाप्पेको अट्याकिङ लाइन हुनेछ ।
मेस्सी १३ वर्षको उमेरमै सन् २००० मा बार्सिलोनामा आबद्ध भएका थिए । उनले ला मासियाको युथ एकेडेमी हुँदै २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले क्याटलान क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी बार्सिलोना र ला लिगाका कीर्तिमानी गोलकर्ता समेत हुन् । ६ पटका बालोन डे ओर अवार्ड विजेता मेस्सीले बार्सिलोनामा १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित कुल ३५ वटा उपाधि जितेका थिए ।