काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। एमालेबाट अलग भएर नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल हुने बताईएको छ।
बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल हुनेछ । बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी समेत तोक्न सक्नेछ ।
बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरण गर्ने एकीकृत समाजवादीको तयारी छ ।