विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा ४ सदस्यीय टोली बजेट माग्दै सिंहदरबार पुगेको छ। सङ्घीय सरकारबाट हस्तान्तरण भएका आयोजना अघि बढाउन बजेट माग गर्दै मुख्यमन्त्री राईको टोली सिंहदरबार पुगेको हो।
टोलीमा मुख्यमन्त्री राईसहित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, प्रमुख सचिव डा रामप्रसाद घिमिरे र अर्थ सचिव सुमन दाहाल छन्। काठमाडौं मङ्गलबार पुगेको प्रदेश १ को टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरी थप बजेट माग गरेको छ।
६ अर्ब २८ करोड थप बजेट माग्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई प्रदेश सरकारको टोलीले भेट गरेको आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले बताए। उनका अनुसार संघले हस्तान्तरण गरेका ४० वटा बहुबर्से आयोजनाका लागि चालू आवका लागि ५ अर्ब बजेट माग गरिएको छ।
प्रदेश १ ले चालू आवका लागि ४१ अर्बको बजेट ल्याएको थियो। बजेटले नपुगेपछि थप स्रोत जुटाउन केन्द्र सरकारलाई आग्रह गरेको उनले बताए। संघले हस्तान्तरण गरेको सडक, सिँचाइ, खानेपानी र शहरी विकास परियोजनाका लागि बजेट माग गरिएको प्रदेश सरकारले जनाएको छ।