मोरङ – स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलले केन्द्रमा तालमेलको खाका तयार पारेसँगै त्यसको कार्यान्वयन गर्न मोरङमा पनि कार्यदल गठन भएको छ। बुधबार गठबन्धनमा संलग्न दलका नेताहरुको बैठकले चार सदस्यीय कार्यदल गठन गरेको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता ओसिम आलमले जानकारी दिए ।
कार्यदलमा नेपाली काङ्ग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष डा. उद्दब पोख्रेल, जनता समाजवादीका राजकुमार यादव तथा माओवादी बाट विजय विश्वास रहेका छन्। कार्यदलको बैठकका लागि नेपाली काङ्ग्रेसको कार्यलयलाई तोकिएको छ।
केन्द्रले तय गरेको मापदण्ड र निर्देशन अनुसार मोरङका स्थानीय तहमा तालमेलको खाका तयार गरेर वैशाख २ गते बस्ने गठबन्धनको बैठकमा पेस गर्ने गरि कार्यदललाई जिम्मेवारी दिईएको प्रवक्ता आलमले बताए । कार्यदलले दिईएको खाकामाथी गठबन्धनमा छलफल गरि शनिबार अन्तिम रुप दिईने आलमले बताए ।
बुधबार बसेको बैठकमा नेपाली काङ्ग्रेस मोरङका सभापति डिक ब. लिम्बू, एकीकृत समाजवादीका महेश रेग्मी, चन्द्रबिर राई, जनता समाजवादीका जयराम यादव तथा माओवादी केन्द्रका शिवकुमार मण्डल लगायतको उपस्थिती रहेको थियो।