विराटनगर । प्रदेश १ प्रदेशसभामा २ जना महिलामात्रै प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । ५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा एकीकृत समाजवादीकी खिनु लङवा र राप्रपाकी सविना बजगाईंमात्रै प्रत्यक्षतर्फ विजयी भएका हुन् ।
प्रदेशसभामा प्रत्यक्षतर्फ माओवादी, एमाले र एकीकृत समाजवादीबाट २-२ तथा राप्रपाबाट तीन जना महिला उम्मेदवार बनेका थिए । जसमध्ये इलाम १ (क ) बाट एकीकृत समाजवादीकी खिनु लङ्वा र झापा १ (ख ) बाट राप्रपाकी सविना बजगाईंले मात्रै निर्वाचन जिते ।
प्रदेश १ सरकारकी संस्कृति पर्यटनमन्त्री रहेकी खिनुले एमालेकी शोभा पराजुलीलाई पराजित गरेकी हुन् । उनले १३ हजार ३७५ मत ल्याउँदा एमालेकी पराजुलीले ११ हजार ३९५ मत ल्याएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले र राप्रपा गठबन्धनबाट झापा क्षेत्र नम्बर १ (२) बाट राप्रपाकी बजगाईं १३ हजार ६१२ मत ल्याएर विजेता बनिन् । उनले माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई हराइन् । लिम्बूले १२ हजार २२५ मत प्राप्त गरे ।
यसअघि २०७४ मा पनि प्रदेश १ को प्रदेशसभामा दुई जना महिलाले मात्रै प्रत्यक्षतर्फ विजय हात पारेका थिए । २०७४ मा इलामबाटै तत्कालीन एमालेको तर्फबाट खिनु लङ्वा र उदयपुर २ (ख ) बाट कला घले निर्वाचित भएका थिए ।