।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले चुनावी समीक्षाको प्रतिवेदन बुझाउन पार्टीका विभिन्न तहलाई निर्देशन दिएको छ । जनमत पार्टीका उपमहासचिव इन्द्रजीत यादवले जारी गरेको सर्कुलर अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी हरेक वडा समितिदेखि केन्द्रीय समितिसम्म समीक्षा बैठक राखेर मंसिर मसान्तभित्र केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
सर्कुलरमा स्थानीय र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार चयन प्रकृया, वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्रीय समिति तथा भातृ संगठनका सदस्यहरूको भूमिका, सक्रियता र योगदान के–कस्तो रह्यो भन्ने विषयमा प्रतिवेदन तयार गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
निर्वाचनमा पार्टीभित्रको कुन–कुन पक्षले सहयोग वा असहयोग र घात–प्रतिघात गर्यो भन्ने विषयमा प्रतिवेदन केन्द्रित गर्न निर्देशन दिइएको छ । साथै सम्पूर्ण उम्मेदवार र समितिका पदाधिकारीको मूल्यांकनसहित समाधानको प्रस्ताव समेत पठाउन निर्देशन दिएको सर्कुलरमा उल्लेख छ ।