नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ।
बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ। उक्त बैठकले सरकारमा जाने नजानेबारे निर्णय गर्ने स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले जानकारी दिए।
उनका अनुसार यो बैठक भोलि सम्म चल्ने सम्भावना छ। बैठक सकिएपछि सरकारमा जाने/नजानेबारे निर्णय गर्ने उनले बताए।
यस्तै नेकपा एमालेसँग पार्टी एकता हुने/नहुनेबारेमा पनि आधिकारिक रूपमा कुनै छलफल नभएको उनले बताए।
‘एमालेसँग पार्टी एकता गर्ने भन्नेबारे कुनै पनि छलफल भएको छैन। बाहिर आएको हल्लामा कुनै पनि सत्यता छैन,’ उनले भने, ‘प्रष्टसँग म के भन्छु भने अहिलेको अवस्थामा कुनै पार्टीसँग एकता हुँदैन।’
अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग भएको बताएका छन्।
उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरूसँग छलफल गरेका थिए।