काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ ।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्ड र ओलीबीच तीन बुँदे भद्र सहमति भएको छन।
सहमतिको पहिलो बुँदामा दुई नेताबीच आधा–आधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने रहेको मन्त्रीको भनाई छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा यो संसद्लाई पाँचै वर्ष चल्ने दिने र बीचमै संसद् विघटन नगर्ने रहेको छ । तेस्रो बुँदामा यो गठबन्धनलाई आगामी चुनावैसम्म कायम गरेर जाने दुई नेताबीच सहमति भएको खुलाए ।अहिलेको संसद् पाँचै वर्ष चल्छ वा चल्दैन भन्ने संशयका बीच ओली–प्रचण्डले भद्र सहमति गरेकाले अब यो गठबन्धनमा समेत विश्वासको वातावरण बनाउने प्रयास हुने भनाई छ । ‘अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएर सबैको स्वामित्व लिने वातावरण बनाइनेछ,’ भने, ‘आमजनतामा व्यापक निराशा भएकाले न्यूनतम साझा कार्यक्रम बनाएर अल्पकालीन र दीर्घकालीन काम गर्ने योजना पनि बनाइनेछ ।’
तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरेपछि तत्कालीन नेकपा विभाजन भएको थियो । नेकपा विभाजन भएपछि प्रचण्ड र माधव नेपाल पक्ष नेपाली कांग्रेससहितको नयाँ मोर्चा बनाएका थिए । पाँच दलीय मोर्चाबाटै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरू चुनावमा सहकार्य गरेर सहभागी भएका थिए । उता एमालेले पनि साना दलहरू गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रेको थियो ।
तर नेपाली कांग्रेसले पूर्वसहमति विपरीत प्रधानमन्त्री र राष्ट्रपति दुवै माओवादीलाई दिन अस्वीकार गरेपछि प्रचण्ड र ओली एक ठाउँमा आउने वातावरण बनेको हो ।